टीकापुरमा कृषि पढ्न आएनन् विद्यार्थी

  आइतबार २०, साउन २०८१ ११:४८

धनगढी । प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

कृषिको उर्वरभूमि कैलालीमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या घटेको छ । सिटिइभिटीले रानीजमरा कुलरिया, सिक्टा, बबई, महाकाली सिँचाइ परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ विषय सञ्चालनमा ल्याएको छ । आकर्षक विषय र रोजगारी सुनिश्चित जस्तै भए पनि त्यहाँ पनि दुई जनाको मात्रै आवेदन परेको छ ।

एसइईमा न्यून विद्यार्थी पास हुनु, पास हुने विद्यार्थीमध्ये धेरै जसो कक्षा १२ पासपछि विदेश जाने लक्ष्य राख्न थालेकाले प्राविधिक विषय पढ्नेको सङ्ख्या घटेको टीकापुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षक विकास रानाको भनाइ छ ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा पढाइ हुने अन्य प्राविधिक विषय पढ्ने चाहना राखी प्रवेश परीक्षाको आवेदन दिनेको सङ्ख्या पनि कम छ । फाराम भर्ने निर्धारित समयसम्म ४०/४० जनाको कोटा रहेको पशु विज्ञानमा २१ जना, वनविज्ञानमा ११ जना, ४८ जना पढाउने कोटा भएको सिभिल इन्जिनियरिङमा १७ जनाको मात्रै आवेदन परेको छ । साउन १९ गते प्रवेश परीक्षा हुँदै छ ।

शिक्षालयका प्रमुख इन्जिनियर पारस खड्काका अनुसार देशभरको अवस्था हेर्दा कोटाको २५ प्रतिशत मात्रै विद्यार्थीले प्रवेश परीक्षाका लागि फाराम भरेका छन् । ४० जना सिभिल इन्जिनियर पढाउँदै आएको सरस्वती मावि प्रतापपुर लम्कीचुहामा यस वर्ष १९ जनाले मात्रै आवेदन दिएको प्रधानाध्यापक ठण्डराज जोशीले बताउनुभयो । ४० जना हेल्थ असिस्टेन्ट पढाउने कोटा पाएको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा २६ जनाले मात्रै फाराम भरेको प्रमुख अर्जुन भाटले बताए ।

clock आइतबार २०, साउन २०८१ ११:४८

प्रतिक्रिया