दोधारा चाँदनीमा फेरि बाघ देखिन थालेपछि स्थानीय त्रसित

  आइतबार २०, साउन २०८१ १०:५३

महेन्द्रनगर । दोधारा चाँदनीमा पुनः बाघ देखिएको भन्दै स्थानीयमा त्रास बढेको छ । शुक्रवार साँझ पुनः बाघ देखिएको स्थानीयले बताएका छन् ।

यस अघि बुधवार बिहान दोधारा चाँदनी – २ मा देखिएको बाघको हिजो शुक्रवार बिहान शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज संयुक्त प्राविधिक टोलीले डार्ट गरी नियन्त्रण लिइसकेको छ ।

उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइसकेको छ। बुधवार देखिएको उक्त बाघले बिहीबार बिहान सोही ठाउँकी २६ वर्षीय हिरा शाहको ज्यान लिएको थियो ।

महिलाकै शव फेला परेको सोही क्षेत्रमा पुनः अर्को बाघ देखिएको स्थानीय दीपक पन्तले बताए । दोधारा चाँदनी नगरपालिका –३ मा एक बाख्रो समेत मारेको स्थानीयको दाबी छ । पुनः बाघ देखिएको स्थानीयको दाबीपछि गयराती सो क्षेत्रमा निकुञ्ज, आर्मी, प्रहरी र स्थानीयले पहरा दिएका थिए ।

उता बाघ देखिए भनिएको स्थान वरपर लाइटिङ गरेर हेर्दा त्यस्तो मुभमेन्ट नदेखिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । बाघ देखिएको भनिएको उक्त एरियामा केही बेरमा ड्रोनबाट खोजी गरिने नगर प्रमुख लिम्बूले बताए ।

clock आइतबार २०, साउन २०८१ १०:५३

प्रतिक्रिया