धनगढीमा अन्य स्थानीय तहमा दर्ता भएका अटो रिक्सा चलाउन नपाईने, धनगढीकालाई रुट निर्धारण गरिने

  शुक्रबार ११, साउन २०८१ ०६:४२

धनगढी । धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ। उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने भएको हो।

उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको छ। साथै उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र गुणस्तर समेत निर्धारण गर्ने भएको छ।

विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन ऐन अनुसार भाडा दर निर्धारण रिक्साहरुको नियमन र व्यवस्थापन उपमहानगरपालिकाले गर्न लागेको हो।

रिक्सा परीक्षण गर्न सुरू
धनगढी उपमहानगरपालिकाले विद्युतीय र अटो रिक्सा व्यवस्थाप गर्ने भएको हो। उपमहानगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साहरुको रुट निर्धारण, अनुमति पत्र नवीकरण तथा खारेजी, गुणस्तर र भाडा दर निर्धारण गरिने भएको छ।

धनगढी नगर क्षेत्रभित्र चल्ने विद्युतीय र अटो रिक्साको सम्पूर्ण नियमन गर्न कानूनसमेत निर्माण गरिएको छ। २०७९ पुस २५ मा नगर सभाबाट पारित भएको विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन र व्यवस्थापन सम्बन्धी ऐन, २०७९ अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरूको परीक्षण गर्न ३५ दिने सूचना समेत निकालिएको उपमहानगरको यातायात शाखा प्रमुख ओमप्रकाश बुढाले बताए।

उनले दैनिक २५ वटाका दरले रिक्साको परीक्षण बिहीवारदेखि सुरू भएको बताए। ''हालसम्म धनगढी उपमहानगरपालिकामा दर्ता भएका ७२३ वटा अटोको दैनिक २५ का दरले परीक्षण गरिनेछ,'' उनले भने, ''साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रिक्साहरुको अवस्थाको अध्ययन गरिनेछ।''

रुट र संख्या निर्धारण गरेर अटो चलाइने
धनगढीको आवश्यकता, ट्राफिक व्यवस्थापनमा सहजता, बजार व्यवस्थापनका साथै सवारी धनीहरुको हित प्रवद्र्धन गरी सवारी दुर्घटना न्यूनिकरण गर्न विद्युतीय रिक्सा र अटो रिक्सा व्यवस्थापन गर्न लागिएको हो। ऐनअनुसार धनगढीमा विद्युतीय र अटो रिक्सा चलाउन सञ्चालन अनुमति लिनुपर्ने छ।

सञ्चालन अनुमतिबिना नगर क्षेत्रभित्र रिक्सा चलाउन पाइने छैन। धनगढी नगर क्षेत्रमा अन्यत्र दर्ता भएका रिक्सा चलाउन पाइने छैन भने नगर क्षेत्रभित्र चल्ने रिक्साको संख्या समेत निर्धारण गरिने छ। यस्तै इजाजत मिलेको रूटमा बाहेक अन्यत्र अटो र विद्युतीय रिक्सा चलाउन नपाइने उपमहानगरपालिकाका कानून अधिकृत खडकसिंह कुञ्जेडाले बताए।

''तीन पाङ्ग्रे अटो रिक्साहरू चल्ने रुट निर्धारण, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमन तथा व्यवस्थापन गर्ने काम थालिएको छ। जसका लागि कानून समेत बनेको छ,'' कुन्जेडाले भने।

धनगढी उपमहानगरपालिकामा दर्ता नभएका तथा सवारीचालक अनुमति नलिएको व्यक्तिले अटो र विद्युतीय रिक्सा चलाउन पाउने छैनन्। यस्तै, विद्युतीय र अटो रिक्सा धनीले प्रचलित कानून बमोजिम यात्रु तथा तेस्रो पक्ष बिमा अनिवार्य गर्नुपर्ने छ।

clock शुक्रबार ११, साउन २०८१ ०६:४२

प्रतिक्रिया