बर्खे धान रोप्न पाएनन् कैलालीका किसानले

  बुधबार ०९, साउन २०८१ ११:४७

कैलाली । कैलालीको भजनी नगरपालिका बर्सेनि डुबानमा पर्छ। नगरभित्रका बासिन्दाले बर्खे धान डुबान भएको क्षेत्रमा पुनः रोपाइँ गरिरहेका छन्। सोही नगरपालिकाको थापापुर टोलकी दुर्गा चौधरीले डुबानमा परेर धान मरेको स्थानमा पुनः रोपाइँ गरेको सुनाइन्। ‘मेरो खेतमा खासै क्षति भएको थिएन, रोपाइँ गरिएको केही धान मरेको स्थानमा फेरि रोपाइँ गरे,’ उनले भनिन्, ‘यहाँ कतिपयले ब्याड किनेर फेरि रोपाइँ गरिरहेका छन्।’

हालैको बाढी र डुबानका कारण कतिपय किसानको खेतमा चैते धान नष्ट भएको छ। भर्खरै रोपेको बर्खे धान पनि डुबानले क्षति गरेको किसान बताउँछन्। कैलालीको भजनी नगरपालिका, सोनाफाँटा टोलकी कृष्ण चौधरीले डेढ बिघा जग्गामा फलेको चैते धान भित्र्याउन नपाएको बताइन्।

असार २० गते आएको बाढीले जलमग्न भएको खेत सुक्न नपाउँदै २३ गते फेरि बाढी आउँदा एक बिघा क्षेत्रफलको धानमा क्षति भएको उनले सुनाइन्। त्यसअघि उनले करिब पाँच बिघा क्षेत्रफलको धान भने भित्र्याइसकेकी थिइन्। यस क्षेत्रका धेरै किसानको भित्र्याउने बेला भएको चैते धानदेखि भर्खरै रोपाइँ गरिएको बर्खे धानसम्म बाढी तथा डुबानका कारण क्षति हुन पुगेको चौधरीको भनाइ छ।

यहाँ धान, गहुँ, तोरी बाली लगाउने गरिन्छ । हिउँदमा तोरी लगाउनेले चैते र बर्खे धान रोप्छन्। भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले चेतै र बर्खे धान नोक्सान भएको बताए। तर के–कति नोक्सान भएको भन्ने विवरण प्राप्त हुन नसकेको उनको भनाइ छ। भजनी नगरभित्र सयौँ बिघामा रोपाइँ भएको धान खेतमा बाढीले क्षति पु¥याएको उनको अनुमान छ।

नगरपालिकाको विपत् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गर्ने र सोही अनुसार क्षतिपूर्ति दिँदै आएको नगरप्रमुख चौधरीको भनाइ छ। कैलालीमा बर्खा सिजनमा झण्डै ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। अहिले कैलालीमा एक हजारदेखि १२ सय हेक्टरमा चैते धान खेती हुँदै आएको छ।

तर बाढीका कारणले के–कति चैते धान र बर्खे धान क्षति भयो भन्ने विवरण प्राप्त हुन नसकेको वरिष्ठ कृषि अधिकृत तथा प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशीले बताए। ‘नगरपालिका अन्तर्गत विपद् व्यवस्थापन समिति हुन्छ, त्यहाँ पनि किसानले धानको क्षति टिपाएका छैनन्,’ उनले भने, ‘हामीले अध्ययन गर्दा भजनी नगरपालिका वडा नम्बर(३ र ८ मा करिब ३० देखि ३५ बिघा धान क्षति भएको छ।’

बर्सेनि नेपालमा करिब १३ देखि १५ लाख हेक्टरमा धान रोपाइँ हुँदै आएको छ। यसबाट करिब ५० देखि ५७ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको सरकारी तथ्याङ्क छ। यो वर्ष मुलुकभर करिब १३ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान छ। हालसम्म देशभर ११ लाख ८१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। 

clock बुधबार ०९, साउन २०८१ ११:४७

प्रतिक्रिया