छठौँ पटक म्याद थप्दा पनि धनगढीमा कोल्ड स्टोर निर्माण अधुरै

  सोमबार ०७, साउन २०८१ १२:२३

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा वडा नम्वर– १८ मा कोल्ड स्टोर निर्माण कार्य ढिलाई भएको छ । पटक–पटक समय थप्दा समेत पनि हाल सम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । कोल्ड स्टोर निर्माण गर्न २०७५ मंसिर १७ गते रुबिना कन्ट्रक्सनका काठमाण्डौसँग २४ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सङ्घीय आयोजना अन्तरगत ९ करोड २८ लाख ५७ हजार १ सय ८ रुपियाँ लागतमा कोल्ड स्टोर निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सो कोल्ड स्टोर समयमै निर्माण सम्पन्न नभएपछि तेह्र संसोधन सहित २०८१ चैत मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी छठौँ पटक म्याद थप गरिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सूचना अधिकारी सौरब कलौनीले जानकारी दिए । कोभिड महामारी, डिजाइन परिवर्तन लगायतका कारणले निर्माण कार्य सुस्त भएको कलौनीले स्वीकार गरे । करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै सूचना अधिकारी कलौनीले अब थपिएको समयमा निर्माण कार्य सम्पन्न भइसक्ने बताए ।

यता ठेक्का भएको लामो समय बितिसक्दा समेत निर्माण कार्य सम्पन्न नहुँदा स्थानीय किसानहरु सेवाबाट बन्चित भएका छन् ।कोल्ड स्टोर निर्माण समयमा नहुँदा स्थानीय किसानहरूले उत्पादन गरेका कृषीजन्य बस्तुहरु संरक्षण गर्न नपाएको धनगढी उपमहानगरपालिकाका वडा –१८का वडा अध्यक्ष भुवन रिजालले बताए । यस सम्बन्धमा पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले सुनवाई नगरेको उनको आरोप छ । 

धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले निर्माण कम्पनीको चरम लापरवाहीका कारण निर्माण कार्यमा ढिलाई भएको बताए । कोल्ड स्टोरको निर्माणमा ढिलाई हुँदा स्थानीय किसान मर्का परेको समेत उनको भनाई छ । यता निर्माण कम्पनीका प्रमुख रामगोपाल श्रेष्ठले भने संरचनाको कम करिब सम्पन्न भइसकेको र अब मेसिन मात्र जडान गर्न बाँकी रहेको बताए । मेसिन निर्माणको लागि तयारी भएको बताउँदै अबको २–३ महिनामा सम्पूर्ण कार्य सकिने श्रेष्ठको भनाई छ ।

clock सोमबार ०७, साउन २०८१ १२:२३

प्रतिक्रिया