गोदावरी नगरपालिका अत्तरियाले यसरी बाड्यो प्रमाणबिना झण्डै २७ लाख

  बुधबार ०२, साउन २०८१ १५:१३

धनगढी । कैलालीको गोदावरी नगरपालिका अत्तरियाले प्रमाणबिना नै झण्डै २७ लाख रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले २०७९ मा झालुङ्गे पुल तथा जैविक तटबन्धको नाममा ५० हजार रुपैयाँ कार्यसम्पन्न प्रतिवेदन बिना नै खर्च गरेको पाइएको छ। 

त्यस्तै जिन्सी दाखिला गरेको प्रमाणबिना नै बल्मी सहरी स्वास्थ्य केन्द्रका लागि एक लाख ३८ हजार ९४० रुपैयाँ खर्च गरेर फर्निचर तथा भाडाकुडा खरिद गरिएको छ। वडा नम्बर ५ मा ३३ हजार ३३३ रुपैयाँ खर्च गरेर ९ थान मोटर वितरण गरिएको नगरपालिकाको दाबी छ। तर अशोक चन्दको घर नजिक मोटर जडान भएको कुनै प्रमाण भने फेला परेको छैन्।

त्यस्तै वडा नम्बर १ को विभिन्न स्थानमा सडक ग्राभेल गरेको भन्दै चार लाख १८ हजार ९२० रुपैयाँ खर्च गरिएको छ। तर चेनेज खुलेको नापी किताब नै पेस नभएको पाइएको छ। नगरपालिकाले गोदावरी नदीमा बेलिब्रिज पुल मर्मतको नाममा २ लाख ९५ हजार ८ सय रुपैयाँ खर्च गरेको छ। तर काम गरेको स्पष्ट विवरण खुल्ने प्रमाण भने फेला परेको छैन्।

रामजानकी अछामी टोल सुर्योदय जाने सडक कालोपत्रको नाममा ४ लाख ५४ हजार पाँच सय रुपैयाँ खर्च गरिएको भए पनि बिल भरपाई भौचर फेला परेको छैन्। त्यस्तै वडा नम्बर ६ को दार्चुले टोल नजिक ह्युमपाइप जडानको नाममा २ लाख ४८ हजार ५ सय ७२ रुपैयाँ खर्च गरेको दाबी गरिएको भए पनि अनुगमन समितिको सिफारिसमा सही भएको छैन्। उल्लेखित खर्च २०८० मा गरिएको हो। 

वडा नम्बर २ र ४ माता गौरीलाई ४ लाख ५५ हजार ६४० रुपैयाँ भुक्तानी गरिएको फेला परेको छ। सो भुक्तानी प्राविधिक प्रतिवेदन र कागजात प्रमाणितबिना गरिएको छ। त्यस्तै वडा नम्बर १० राज बहुउद्देश्यीय फर्मलाई ड्रागन खेतीका लागि बोरिङ जडान गर्न गत वर्ष ५ लाख ९० हजार ८८० रुपैयाँ भुक्तानी गरिएको छ। तर कार्यक्रम कार्यान्वयन भएरनभएको कुनै प्रमाण पेस गरिएको छैन्।

यसरी गोदावरी नगरपालिकाले प्रमाण बिना नै २६ लाख ८६ हजार २९४ रुपैयाँ भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (१०) बमोजिम खर्च लेख्दा खर्चको बिल भरपाईसहित लेखा राख्नुपर्ने व्यवस्था छ। तर गोदावरी नगरपालिकाले सो नियमावली र नियम विपरीत मनलाग्दी रुपमा भुक्तानी गर्दै आएको फेला परेको छ।

clock बुधबार ०२, साउन २०८१ १५:१३

प्रतिक्रिया