जानकी गाउँपालिकाले खायो आधा करोडको खाना, इन्धनमै ४ लाख बढी खर्च

  बुधबार १२, असार २०८१ ०७:०१

धनगढी । कैलालीको जानकी गाउँपालिकाले खाजा र खानामै आधा करोड बढी बजेट सकेको छ । महालेखा परिक्षकको आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार जानकी गाउँपालिकाले एक बर्षमै खाजा र खाना शिर्षकमा ५३ लाख ८५ हजार ७ सय २० रुपयाँ खर्च गरेको छ । यसका साथै गाउँपालिकाले ९ लाख ९७ हजार ८ सय ८ रुपयाँ सभा सञ्चालन शिर्षकमा खर्च गरेको छ । खाजा, खाना तथा सभा सञ्चालनमा मात्रै गाउँपालिकाले ६३ लाख ८३ हजार ५ सय २८ रुपयाँ खर्च गरेको छ ।

सो खर्च पालिकाको आन्तरिक आय १ करोड ८७ लाख ७२ हजार ९ सय ३७ को ३४ प्रतिशत हुन आउँछ । आन्तरिक आयको ३४ प्रतिशत खर्च बिविध बिर्षकमै गर्दा मित्तब्ययी नदेखिएको भन्दै महालेखाले फजुल खर्च नियन्त्रण गर्न सुझाव दिएको छ । यस्तै गाउँपालिकाले कर्मचारी प्रोत्साहन भत्ताका नाममा ११ लाख बढी बजेट खर्च गरेको छ । 

पालिकाले कानुन तथा कार्यबिधि नबनाई ११ लाख ५६ हजार ५ सय ५० रुपयाँ प्रोत्साहन भत्ता शिर्षकमा खर्च गरेको पाइएको छ । यस्ता खर्च गर्दा स्थानिय तहको आर्थिक भार बढ्ने भएका कारण आन्तरिक आयलाई मध्यनजर गरी कानुन बमोजिम खर्च गर्न महालेखाले सुझाव दिएको छ । यस्तै गाउँपालिकाले इन्धनको भुक्तानीमा ४ लाख ५१ हजार ९ सय १३ रुपयाँ अनियमितता गरेको छ । 

महालेखाको प्रतिवेदन अनुसार आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उप नियम १३ मा उपनियम (२) जुनसुकै कुरा लेखिएको भएतापनि उप नियम (१५) मा उल्लेखित खर्च शिर्षकमा चालु बर्षको बजेटले खर्च ब्यहोर्नुपर्ने उचित आधार र पर्याप्त कारण भएमा सम्बन्धित कार्यालयले संलग्न बिल भरपाई बमोजिमको रकम आगामी बषृमा भुक्तानी दिने गरी महालेखा परिक्षकबाट स्वूकृत ढाँचामा भुक्तानी दिन बाँकीको बिवरण तयार गरी आर्थिक बर्ष समाप्त भएको ७ दिनभित्र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित गराई राख्नुपर्ने छ । 

जानकी गाउँपालिकाले भने सो बर्षको भुक्तानी दिदा इन्धन वाफतको बिष्ट आयल स्टोरलाई भुक्तानी गर्दा बाँकी बिवरण प्रमाणित नगराएको महालेखाले जनाएको छ । यसरी गत बर्षको भुक्तानी दिन बाँकीको फाँटवारी प्रमाणित नगरी तथा सम्बन्धित शिषृकबाट बजेट बिनियोजन बिना गरेको भुक्तानी नियम सम्मत नदेखिएकाले ४ लाख ५१ हजार ९ सय १३ रुपयाँ अनियमितता भएको महालेखाको ठहर छ ।

clock बुधबार १२, असार २०८१ ०७:०१

प्रतिक्रिया