एसपीए कलेजमा भइरहेको  ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को पहिलो दिन १० खेल खेलाइँदै

  शुक्रबार ०७, असार २०८१ १६:३५

धनगढी । एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा भइरहेको  ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ सुरु भएको छ । यही असार ७ र ८ गते उक्त प्रतियोगिता कलेजको परिसमा सञ्चालन भइरहेको हो । 

वेस्पा इन्टरनेश्नल (डब्ल्यु.ई.एस.पी.ए) स्ट्यान्डआर्डमा बिहान ७ बजे देखी सुरु भएको उक्त प्रतियोगितामा जुनसुकै उमेर समूहका विद्यार्थीले पनि भाग लिन पाउने भए पनि हाल आठ जिल्ला (कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा) का विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका खेलाडीहरू सहभागी भएका छन् । पहिलो दिन १० खेल खेलाइरहेको प्रतियोगिताको दोस्रो दिन ५ खेल खेलाइने छ ।

उक्त प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय परिकारहरूको स्वाद लिन पाइनुका साथै विभिन्न स्थानबाट आउने प्रतियोगीहरूलाई आवासको व्यवस्था सँगै धनगढी क्षेत्र भ्रमण गराइने व्यवस्था मिलाइएको एसपीए स्पोर्टस् क्लबका अध्यक्ष गोविन्द भट्टले जानकारी दिए ।

-के हो स्क्र्याबल खेल ?
स्क्र्याबल क्लबका केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुलीका अनुसार दोस्रो विश्व युद्ध पश्चात् इ.सं. १९३८ बाट सुरु भएको स्क्र्याबल खेल एक शब्द सोच्न सक्ने शक्तिको विकास गर्ने खेल हो । स्क्र्याबल बालबालिका देखी जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि खेल्न मिल्छ भने यो स्बोर्डमा ‘पजल’मार्फत अक्षरहरूको संयोजन गरेर अङ्ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो ।

अन्य खेलहरूले शारीरिक तन्दुरुस्ती लगायतका विषयहरूमा बढी महत्त्वपूर्ण भूमिका खेले जस्तै यो खेलले पनि बौद्धिक तथा मानसिक रूपमा मानवलाई अब्बल बनाउने पराजुलीको भनाई छ ।  

स्क्र्याबल खेल नेपालमा पहिलो पटक सन् २०१५ मा सुरुवात गरिएको थियो। ‘एनाग्राम’ र ‘क्रसवर्ड’हरू संयोजन गर्ने यो खेलको एउटा ‘ब्राण्ड नेम’हो, शब्दको खेलका रूपमा लिइने यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलमै सिकाइ हुने, स्मरण शक्तिको विकास हुने, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गने गरेको देखिन्छ। जसमा दुई देखि चार जनासम्म खेलाडीहरूले शब्दहरू निर्माणका लागि विभिन्न बिन्दुमानहरूको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् भने साधरणतया दुई जनाको बिचमा खेल खेलाइँदै आएको पाइन्छ ।

स्क्र्याबल खेलको नेपालीमा पनि खेलाइने व्यवस्था भए पनि हाल बढी जस्तो स्थानमा अङ्ग्रेजी अक्षरहरू मा नै खेल्ने प्रचलन बढी छ । फलस्वरुप एसपीए कलेजमा खेलाइने स्क्र्याबल खेल पनि अङ्ग्रेजीमै खेलाइने छ ।

एसपीए कलेजमा भइरहेको प्रतियोगिता सफल पार्न स्क्र्याबल क्लब नेपाल, डब्ल्यु।ई।एस।पी।ए। अमेरिकन कर्नर पोखरा, पोखरा सामुदायिक पुस्तकालय , अमेरिकन कर्नर धनगढी, कैलाली उद्योग वाणिज्य संघ, धनगढी उप महानगरपालिका, चैतन्य पाठशाला, नवील बैंक, ब्राईटवे पब्लिक स्कुल, ब्रेड बक्स द बेकरी क्याफे, ग्ली एकेडेमी, एक्सपर्ट र इमेज होटेलले सहकार्य गरेका छन् ।

 ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को उद्घाटन समारोहमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले खेलाडी तथा सम्पूर्ण सहभागीहरू लाई क्रिकेटको सहर धनगढी तथा एसपीए कलेजमा स्वागत गरेका थिए । 

त्यस्तै, कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले खेलको महत्त्व धनगढीमा भइरहेका विभिन्न खेलकुद गतिविधिहरू बारे जानकारी दिँदै प्रतियोगीहरू लाई सफलताको शुभकामना व्यक्त गरे ।

clock शुक्रबार ०७, असार २०८१ १६:३५

प्रतिक्रिया