कैलालीको गौरीगंगामा ३३ जना मृतकको नाममा भत्ता निकासा

  शुक्रबार ३२, जेठ २०८१ ०७:२४

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले ३३ जना मृतकको नाममा भत्ता निकासा दिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३३ जना मृतकको नाममा एक लाख ८२ हजार सात सय ७१ रुपैयाँ निकासा गरेको हो। महालेखापरीक्षकको कार्यालयले ३३ जना मृतकको बैंक खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएकाले असुल गर्न भनेको छ।

नगरपालिकाले प्रत्येक वर्ष लाभग्राहीको विवरण अद्यावधिक गरेर मृत्यु भएका व्यक्तिहरुको लगत कट्टा गरेर आवश्यक रकम मात्र निकासा गर्नुपर्नेमा मृत्यु भइसकेकाहरुको नाममा पनि भत्ता निकासा गरिन लागेको हो। महालेखाले मृत्यु भएका व्यक्तिको खातामा निकासा भएको रकम भुक्तानी लिने व्यक्तिबाट असुल गर्न भनेको छ। 

नगरपालिकालाई निष्क्रिय खाताको विवरण समेत बैंकले नपठाएको फेला परेको छ। आर्थिक वर्षको अन्तिमसम्ममा रकम खर्च नभएमा सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने हुन्छ। तर, नगरपालिकाले बैंकमा पठाएको सामाजिक सुरक्षा भत्ता भुक्तानी भएकोमा निष्क्रिय खाताको विवरण पठाइएको छैन। बैंकले विवरण नपठाएकाले निष्क्रिय खाता र खातामा रहेको रकमको विषय खुलेको छैन।

साथै गौरीगंगा नगरपालिकाका चार जना व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्तासमेत लिएको फेला परेको छ। नगरपालिकाको २०७९/८० को अन्तिम लेखापरीणमा ११ हजार तीन सय ८० रुपैयाँ दोहोरो भत्ता निकासा भएको हो। डंगाली थारू, पावर्ती देवी देउवा, अनमोल विकबाट दोहोरो भुक्तानी भएको सामाजिक सुरक्षा भत्ता असुल गर्न भनिएको छ। सो नगरपालिकाले ६ वटा बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।

नगरपालिका क्षेत्रका जेष्ठ नागरिक, जेष्ठ नागरिक (दलित), जेष्ठ नागरिक (महिला), विधवा महिला (आर्थिक सहायता), पूर्ण अपाङ्गता भत्ता, अति अशक्त अपाङ्गता भत्ता, दलित बालबालिका र लोपन्मुख जाती गरेर सात हजार एक सय ६७ जनालाई एक वर्षमा २५ करोड ६८ लाख २५ हजार आठ सय ४० रुपैयाँ वितरण गरिएको छ। २ लाख २६ हजार चार सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता भुक्तानी लिएकाहरूले भने फिर्ता गर्नुपर्ने देखिएको छ।

clock शुक्रबार ३२, जेठ २०८१ ०७:२४

प्रतिक्रिया