पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने

  शुक्रबार ३२, जेठ २०८१ ०७:०४

काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ । तर लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

clock शुक्रबार ३२, जेठ २०८१ ०७:०४

प्रतिक्रिया