गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

  बिहिबार ३१, जेठ २०८१ १५:०२

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेको छ। नियुक्त गरिएका दुबै जना स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ।

नगरपालिकाले ऐनले तोकेकोभन्दा फरक पदमा कर्मचारी नियुक्त गरेको पाइएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेवी रोकायले ऐन विपरीत स्वकीय सचिव नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ।

तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएकोभन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नहुने उल्लेख छ। तर नगर प्रमुखको स्वकीय सचिवलाई आर्थिक वर्ष २०७९र८० को मात्र चार लाख १५ हजार ३७५ रुपैयाँ उपलब्ध गराएको छ।

त्यस्तै उपप्रमुखको स्वकीय सचिवलाई तीन लाख ५२ हजार चार सय ६० रुपैयाँ भुक्तानी गरिएको छ। नगर प्रमुख र उपप्रमुखका लागि नियुक्त गरिएका दुबै स्वकीय सचिवलाई ऐन विपरीत ७ लाख ६७ हजार ८५५ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। भुक्तानी गरिएको रकमलाई बेरुजूको रुपमा राखिएको छ।

clock बिहिबार ३१, जेठ २०८१ १५:०२

प्रतिक्रिया