कृषिबाली तथा पशु बिमा निःशुल्क हुने बिमासमेत गर्दैनन् किसान

  मङ्गलबार २९, जेठ २०८१ १४:३२

डडेल्धुरा । भागेश्वर गाउँपालिका–४, बगरकोटका भीम सार्कीले ४५ वटा बाख्रा पाल्नुभएको थियो । गएको जेठ २ गते उहाँका ११ वटा बाख्रा एकै पटक मरे । पेट फुल्ने, नाक, मुखबाट पातलो तरल पदार्थ निस्कने, सिँगान बग्ने, सास फेर्न कठिनाइ हुने जस्ता लक्षण देखिएसँगै बाख्रा मरेका हुन् । गाउँपालिकाका पशु सेवा शाखा संयोजक नायब पशु सेवा प्राविधिक मोहन सार्कीका अनुसार जेठ ४ गतेसम्म उहाँका ३१ वटा बाख्रा मरे । उनले बाख्राको बिमा गर्नुभएको थिएन । निःशुल्क हुने बिमा नगर्दा सार्कीले ठुलो क्षति बेहोर्नु प¥यो ।

कृषिबाली र पशु बिमा गर्न सङ्घीय सरकारले ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षयता किसानलाई २० प्रतिशत अनुदान दिने गरेको छ । बिमा कम्पनीमा लाग्ने केही रकम मात्रै किसानले तिर्नुपर्ने हुन्छ । प्रायः बिमा निःशुल्क जस्तै छ तर पनि यहाँका किसानले बिमा गर्ने गरेका छैनन् । सार्की जस्तै यहाँका व्यावसायिक किसानले समेत कृषि बाली तथा पशु बिमा नगर्दा ठुलो क्षति बेहोर्नु परेको छ ।

मरेका बाख्राको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा जाँच गरेपछि विषालु आहाराका कारण मृत्यु भएको खुलेको छ । अहिले वनजङ्गलमा पलाएका विषालु घाँस प्याउली, बरो, गुराँस, अयर तथा धुलोधुवाँलगायतका कारण ठुलो सङ्ख्यामा बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र डडेलधुराका कार्यालय प्रमुख पशु चिकित्सक देवराज भट्टले जानकारी दिए उनका अनुसार सार्कीका बाख्राले बरो नामको घाँस खाएका थिए । यसैका कारण बाख्रा मरेको प्रयोगशालाको प्रतिवेदनमा देखिएको उनले बताए ।

कार्यालय प्रमुख भट्ट तीन वर्षअघि सार्कीको खोरमा पुग्दा बिमा गर्नुभएको छ कि छैन भनेर सोधेको र तुरुन्त बिमा गर्नका लागि सुझाव दिएको बताउछन् । उनले भने, “४५ बाख्रा पाल्नु भनेको एकदमै ठुलो सङ्ख्या हो । बिमा गराइहाल्नुस भनेर फर्केको थिएँ तर उहाँले बिमा नगर्दा ठुलो क्षति बेहोर्नुभयो ।” उनका अनुसार व्यावसायिक रूपमा किसानलाई अघि बढाउन दिइने अनुदानमा बिमा अनिवार्य गरिएको छ तर अनुदान नपाउने, आफैँले बढी मात्रामा पशुपालन गरिरहनुभएका किसानले बिमा गर्ने गरेका छैनन् ।

गत वर्ष गाई, गोरु र भैँसीमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण व्यापक रूपमा फैलिएको थियो । यस रोगका कारण यहाँका दुई हजार तीन सय गाईगोरु मरेको उनले जानकारी दिए । गत वर्ष जिल्लाभरिमा एक हजार तीन सय पशुपन्छीको मात्रै बिमा गरिएको थियो । उनका अनुसार यस वर्षको हालसम्म बिमा गरेर अनुदानका लागि माग आएको पशुपन्छीको सङ्ख्या १८७ छ । जिल्लाभरिमा १२ हजार दुधालु गाई, १४ हजार दुधालु भैँसी, डेढ लाख बढी बाख्रा र त्यतिकै सङ्ख्यामा कुखुरापालन गरिँदै आएको उहाँले बताउनुभयो । यो सङ्ख्या हेर्दा बिमा गर्ने किसानको सङ्ख्या शून्य छ ।

clock मङ्गलबार २९, जेठ २०८१ १४:३२

प्रतिक्रिया