"श्रमाधान रोजगार मेला" धनगढीमा शुरु हुँदै

  आइतबार २७, जेठ २०८१ ०७:३०

काठमाणडौ । रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा"श्रमाधान रोजगार मेला" शुरु हुँदैछ । आज र भोलि दुई दिन मेला चल्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।

उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने तयारी छ । मेलाले रोजगारीका अवसर सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्ने विश्वास छ ।

श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिम्खडाले धनगढीमा हुन लागेको मेलामा ३५ नीजि क्षेत्रका स्टल रहने जानकारी दिनुभयो ।

मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवम् आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन हुने छ ।

सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भैसकेको छ ।

clock आइतबार २७, जेठ २०८१ ०७:३०

प्रतिक्रिया