भाटभटेनीका सञ्चालक द्वारा ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा पाँच लाख २५ हजार सहयोग

  शनिबार २६, जेठ २०८१ ०७:२३

धनगढी । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका छन् ।

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर गुरुङले पाँच लाख २५ हजार रुपैयाँ ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका हुन् ।

गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १०० जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनका लागि भनेर धनगढी उपमहानगरपालिकाले नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको हो । कोषमा आर्थिक सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको हो ।

कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाई रहेको छ ।

धनगढी उपमहानगरपालिकाले मात्र शिक्षा क्षेत्रमा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगरप्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न धनगढी नगर प्रमुख गोपाल हमालले आग्रह गरेका छन् ।

यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५००, माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार र प्रभु बैंक धनगढी शाखाले ५२ हजार ५०० रुपैयाँ विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि भनेर सहयोग गरेका थिए ।

clock शनिबार २६, जेठ २०८१ ०७:२३

प्रतिक्रिया