धनगढीलाई पर्यावरणमैत्री बनाउन  ‘हरित धनगढी’ अभियान, रोपियो ८ हजार बिरुवा

  शनिबार २६, जेठ २०८१ ०६:५८

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान थालेको छ । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियान थालिएको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीले धनगढी नगरक्षेत्रलाई हरियाली प्रवर्द्धन गर्ने र पर्यावरण मैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानअन्तर्गत बृक्षारोपण अभियानलाई तीवरूपमा अघि बढाएको जनाएको छ ।

धनगढीलाई पर्यावरणमैत्री बनाउन उपमहानगरपालिकाले यसअघि नै प्लाष्टिक बेचबिखन गर्न प्रतिबन्ध लगाइसकेको छ ।  

यो अभियानअन्तर्गत उपमहानगरपालिकाले हालसम्म ८ हजार बिरुवा रोपिसकेको छ । ‘हरित धनगढी’ अन्तर्गत धनगढी हरियाली प्रवर्द्धन कार्यक्रम २०७९ फागुनबाट सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए । 

शाखा प्रमुख जोशीले खाली बृक्षारोपणका लागि बृक्षारोपण नभई उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकताअनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जानकारी दिए । 

उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको जनाएको छ ।

आफ्नै जनशक्तिबाट रोपिएका बिरुवाको हरेचाह र सिँचाइ समेत गर्दै आएको उपमहानगरपालिकाले  हरियाली प्रवर्द्धन अभियान सञ्चालन गरेर बृक्षारोपणका लागि जनस्तरबाट ४४ लाख ७५ हजार रुपैयाँसमेत संकलन गरेको छ । जनस्तरबाट संकलित उक्त रकमबाट १२ लाख १९ हजार ९० रुपैयाँ बृक्षारोपणमा खर्च भएको छ ।

सो रकम गत आर्थिक वर्षमा १८ लाख ५५ हजार रुपैयाँ हरियाली पवद्र्धन कार्यक्रम कोषमा जम्मा भएकोमा चालु आर्थिक वर्षमा थप २६ लाख २० हजार गरी ४४ लाख ७५ हजार रुपैयाँ जम्मा भएको छ ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तारजालीसहित तीन हजार १३५ बिरुवा रोपेर हरियाली कार्यक्रमको सुरुवात गरेको उपमहानगरपालिकाले ६ लेन सडकको दुबैतिर ट्री–गार्डसहित थप दुई हजार ३९ बिरुवा रोपेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बृक्षारोपणका एक करोड बजेट विनियोजन गरेकोमा हालसम्म ९५ लाख ३१ हजार रुपैयाँ खर्च भइसकेको शाखा प्रमुख जोशीले बताए । 

मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनी सुपरमार्केटसहितका विभिन्न संघरसंस्थालेसमेत वृक्षारोपण गरेका छन् । उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया समेत वृक्षारोपण गरेको छ । यसका साथै वनदेवी सडक क्षेत्रमा पनि ६६ वटा बिरुवा रोपिएको छ ।

निर्माणको चरणमा रहेको हुलाकी राजमार्गमा वृक्षारोपण गर्ने काम हुँदैछ । हुलाकी राजमार्गको मनहेरा क्षेत्रमा २३५ वटा फलफूलका बिरुवासमेत रोपिएको छ । ती विरुवा चराको आहारका लागि रोपिएको हो ।

वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ । ट्री–गार्डमा कुनै संघरसंस्था तथा ब्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने गरेको छ ।

सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ । बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाह उपमहानगरपालिकाले गर्दै आएको छ ।

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघरसंस्थाको सहभागिता बढ्दै गएको शाखा प्रमुख जोशीको भनाई छ ।

clock शनिबार २६, जेठ २०८१ ०६:५८

प्रतिक्रिया