डडेल्धुरामा अमरसिंह थापाको नयाँ सालिक अनावरण

  सोमबार २१, जेठ २०८१ २१:००

डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक अनावरण गरिएको छ।

सोमवार अमरगढी नगरपालिकाको आयोजनामा भएको एक औपचारिक कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज जोशीले थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरेका हुन्। थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो।

सालिक अनावरण गर्दै मेयर जोशीले किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ सालिक राखिएको बताए।

‘धेरैले बडाकाजी थापाको अनुहारसंग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका थिए,’ मेयर जोशीले भने, ‘झण्डै एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौं।’

मेयर जोशीले अमरगढी किल्ला लगायतका ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन आवश्यक रहेकोमा पनि जोड दिए।

कार्यक्रममा परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी, २५ नम्बर बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापा, अर्जुन बाण गण र रणबम गणका प्रमुख, डडेल्धुरा अमरगढी नगरपालिकाका पूर्वमेयर मोहनराज पाठक लगायतको उपस्थिति रहेको थियो।

यस्तै किल्लामा नेपाली सेनाको सिघ्र प्रभाव परियोजना अन्तर्गत प्राप्त बजेटबाट ढुङगा छाप्ने काम पनि सम्पन्न भएको छ। कार्य सम्पन्नपछि सेनाले नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ। अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ। नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ। 

clock सोमबार २१, जेठ २०८१ २१:००

प्रतिक्रिया