नापी कार्यालय कैलालीमा विज्ञापन बिनै खुसुक्क कर्मचारी भर्ना

  सोमबार २१, जेठ २०८१ १४:४२

धनगढी । नापी कार्यालय, कैलालीमा विज्ञापन नगरेरै २० जना कर्मचारी भर्ना गरिएको छ। मालपोत कार्यलय, कैलालीले सूचनासमेत सार्वजनिक नगरेरै करार सेवाबाट कर्मचारी भर्ना गरेको हो। कार्यालयका प्रमुख तथा राजनीतिक शक्तिको आडमा कर्मचारी भर्ना गरिएको हो।

नापी कार्यालय, कैलालीमा कम्प्युटर अधिकृत, कम्प्यूटर अपरेटर, सहायक कम्प्यूटर अपरेटसहितका २० जना कर्मचारी करार सेवामा भर्ना गरिएको छ । नापी कार्यालय, कैलालीले तृतीय श्रेणीका कर्मचारीदेखि श्रेणीविहीनसम्म २० जना कर्मचारी करार सेवामा भर्ना गरेको पाइएको छ। 

नापी कार्यालय, कैलालीमा २० जना कर्मचारीका लागि मासिक रुपमा चार लाख ६७ हजार आठ सय ८९ रुपैयाँ खर्च हुँदै आएको छ। यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार बढीको आर्थिक भार थपिएको छ।

नापी कार्यालय कैलालीको तथ्याङ्क अनुसार ४३ हजार ६ सय ८९ रुपैयाँ मासिक तलब सुविधा लिने एक जना कम्प्यूटर अधिकृत करार सेवामा छन्। मासिक ३४ हजार सात सय ३० रुपैयाँ कम्प्युटर अपरेटर एक जना छन्। मासिक ३२ हजार नौ सय २ रुपैयाँ तलब लिने एक जना सहायक कम्प्यूटर अपरेटर छन्।

एक जना २७ हजार ६ सय १२ रुपैयाँ मासिक तलब लिने सवारी चालक करार सेवामा भर्ना गरिएको छ। चार जना कार्यालय सहयोगीहरु छन। उनीहरुले मासिक २४ हजार सात सय २ रुपैयाँ तलब सुविधा लिने गरेका छन्। कार्यालय सहयोगीका लागि नापी कार्यालयले एक महिनामा ९८ हजार आठ सय आठ रुपैयाँ खर्च गर्दै आएको छ।

त्यस्तै नापी कामदारको तलब १२ जनाले बुझ्दै आएका छन्। उनीहरुले मासिक २१ हजार चार सय ८० रुपैयाँ तलब लिने गरेका हुन्।

clock सोमबार २१, जेठ २०८१ १४:४२

प्रतिक्रिया