टीकापुरको तापक्रम ४५.२ डिग्री पुग्यो, ४८ वर्षयताकै उच्च

  शुक्रबार १८, जेठ २०८१ ०८:३८

धनगढी । कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको छ । बुधबार देशभरमै सबैभन्दा बढी ४३.५ डिग्री मापन भएको टीकापुरमा एकैदिन १.६ ले उकालो लागेर सोही स्टेसनका लागि अहिलेसम्मको रेकर्ड ब्रेक भएको हो ।

टीकापुरमा २४ मार्च १९७६ देखि तापक्रमको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी १३ र १४ जुन ०१२ मा ४५ डिग्री पुगेको थियो, जुन टीकापुरका लागि रेकर्ड ब्रेक तापक्रम थियो । तर, बिहीबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । नेपालमा सबैभन्दा धेरै अधिकतम तापक्रम १६ जुन १९९५ मा धनगढीमा ४६.४ डिग्री मापन भएको थियो । 

बिहीबार टीकापुरपछि धेरै तापक्रम मापन भएको क्षेत्र नेपालगन्ज हो । नेपालगन्जमा पनि १२ वर्षयताकै उच्च तापक्रम ४४.२ पुगेको छ । नेपालगन्जमा १४ जुन, २०१२ मा ४५ डिग्री मापन भएको थियो । बुधबार नेपालगन्जको तापक्रम ४२.८ पुगेको थियो । गत वर्ष नेपालगन्जमा सबैभन्दा बढी ३० मे ०२३ मा ३९ डिग्री मात्र पुगेको थियो । 

धनगढीको तापक्रम पनि ४४.१ डिग्री पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो । यहाँ बुधबार ४३.३ डिग्री पुगेको थियो । भैरहवामा बिहीबार दिउँसो बादल लाग्दा तापक्रम ३९.४ डिग्री मापन भएको छ । तर, न्यूनतम तापक्रम भने ३०.५ डिग्री रह्यो । पश्चिममा तराई मात्र होइन, उपत्यकामा पनि तापक्रम उच्च छ । बिहीबार सुर्खेतको अधिकतम तापक्रम ४१ र घोराहीको ४०.२ डिग्री पुगेको छ । 

जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालयका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार भारतको राजस्थान, दिल्ली क्षेत्रको तातो हावा धनगढी, टीकापुर, नेपालगन्ज क्षेत्रमा पुगेको छ, यसले तापक्रम बढाउन अझ मद्दत गरेको हो । ‘पूर्वमा बादल र केही पानी पर्दा हल्का राहत भएको छ, तर रुपन्देही, कपिलवस्तुदेखि पश्चिम तराईमा तातो हावा चलिरहेको छ, बादल पनि छैन,’ पौडेलले भने ।

clock शुक्रबार १८, जेठ २०८१ ०८:३८

प्रतिक्रिया