‘जैविक विविधता संरक्षणमा चुनौती’

  बिहिबार १०, जेठ २०८१ ०९:०४

कञ्चनपुर । वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणकरण सम्बन्धी एकदिने तालिममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले मानवीय आवश्यकता बढ्दै जाँदा वन क्षेत्र घट्दै जानु चिन्ताको विषय भएको बताए ।

देशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उनले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने विचार व्यक्त गरे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिकस्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि धयान दिनुपर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य शेरबहादुर साउदले वन माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।

clock बिहिबार १०, जेठ २०८१ ०९:०४

प्रतिक्रिया