टीकापुर जग्गा हिनामिनाको अनुसन्धान गर्न डिएसपी नेतृत्वको टोली फिल्डमा

  मङ्गलबार ०८, जेठ २०८१ १२:५५

धनगढी । जग्गा हिनामिनाको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोली टीकापुर पुगेको छ। डिएसपी नेतृत्वको सोमबारदेखि जग्गा हिनामिनाको अनुसन्धान गर्न फिल्डमा खटिएको हो। 

टीकापुरको सार्वजनिक जग्गा हिनामिना गर्न तत्कालिन नगरविकास समितिका अध्यक्षहरु नै संलग्न भएपछि सिआइबीले यसको विस्तृत अध्ययन गर्न लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगरविकास समितिको सार्वजनिक जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो। टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए। गत माघ २५ गते अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

टीकापुर नगरपालिका–१ टीकापुर नगर विकास समितिको नाममा नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ। टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायतका किर्ते गरी जग्गा हिनामिना भएको थियो।

यसमा तीन सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएको सिआइबीले जनाएको छ। अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ। मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ।

नेत्रप्रसाद जोशीः टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्, जोशी। सुरुमा नेपाली कांग्रेस निकट थिए, जोशी। विजय गच्छदारले कांग्रेस पार्टी छाडेर फोरम लोकतान्त्रिक गठन गरेपछि गच्छदारसँगै उनी फोरममा लागे। गच्छदारसँग सम्बन्ध बढाएर टीकापुर नगर विकास समितिको अध्यक्ष बने। त्यसपछि माओवादीमा डाक्टर बाबुराम भट्टराई नजिक भए। हाल उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन्।

ललित ताम्राकारः ताम्राकार टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्। ताम्राकार सुरुमा माओवादी पार्टीमा आबद्ध थिए। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको निकट सम्बन्ध भएका कारण टीकापुर विकास समितिको अध्यक्ष बनेका थिए। पछिल्ला दिनमा ताम्राकार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन्।

गंगाबहादुर कुँवरः कुँवर टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट कैलालीबाट निर्वाचित पूर्व सांसद पनि हुन्। कांग्रेस सत्तामा हुँदा उनी दुई पटक विकास समितिको अध्यक्ष बनेका थिए।

श्याम खत्रीः खत्री एमालेका स्थानीय नेता हुन्। खत्रीले समितिमा एमालेको प्रतिनिधि भएर काम गरेका थिए। खत्री गत निर्वाचनमा एमालेबाट टीकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए, पराजित भए।

खडकबहादुर शाहः माओवादीका स्थानीय नेता खडकबहादुर शाह टीकापुर नगरपालिकाका उपमेयर हुन्। उनले समितिमा माओवादी पार्टीको प्रतिनिधित्व गरेका थिए।

clock मङ्गलबार ०८, जेठ २०८१ १२:५५

प्रतिक्रिया