कञ्चनपुरको बेलडाँडी नाकाबाट तस्करी हुँदै  ३६१ बोरा गहुँ सशस्त्र प्रहरीको नियन्त्रणमा

  शुक्रबार ०४, जेठ २०८१ १०:४१

कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरमा तीन सय ६१ बोरा अबैध गहुँ नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले गहुँसँगै ठूलो परिणाममा भन्सार छलीको सामान नियन्त्रणमा लिएको हो। जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 

३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीका प्रमुख एसपी खगेन्द्र चन्दले बताए।

उनले बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको बताए। सामान ढुवानीमा संलग्न भने फरार छन्। त्यस्तै कञ्चनपुर प्रहरीले बैशाख ११ र १२ गते दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको थियो।

दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ। प्रहरीले अबैध सामान आयातमा संलग्न व्यक्तिलाइ भने नियन्त्रणमा लिन सकेको छैन्।

थप ८८ लाखको अबैध सामान बरामद
यसअघि कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका ८८ लाख मुल्यका सामान नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल ३५ नम्बर गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो।

यसअघि २६ लाख ९७ हजार बराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो। फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरेको छ। 

माछा, कुखुरा र अन्य पेय पदार्थ गरी १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरिएको छ। एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ।

clock शुक्रबार ०४, जेठ २०८१ १०:४१

प्रतिक्रिया