कञ्चनपुरमा प्रहरीमाथि तस्करले गोली चलाए, १५६ केजी मासु बरामद

  बिहिबार ०३, जेठ २०८१ १३:१७

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीमाथि तस्कर समूहले गोली चलाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ को जानकी सामुदायिक वनमा तस्करले प्रहरीमाथि एक राउन्ड गोली चलाएको कञ्चनपुर प्रहरीले बताएको छ।

जङ्गली जनावरको चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि जंगलमा तस्करहरूको समूहले गोली चलाएको हो। तर, प्रहरीलाई कुनै चोट लागेको छैन। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चार वटा चित्तलको मासु, एक मोटरसाइकल र चाकु प्रहरीले बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोली तस्करहरूको समूहलाई नियन्त्रण गर्न पुगेको थियो। तर, तस्करहरूको समूह फरार भएको छ। १२र१३ जनाको सङ्ख्यामा रहेका उनीहरू मोटरसाइकलमा भागेर फरार भएका छन्। 

प्रहरीले उनीहरूको एक से १ प ४१११ नम्बरको मोटरसाइकल भने नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले चित्तलका चार टाउकासहित एक सय ५६ किलोग्राम मासु बरामद गरेको हो।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चित्तलको सिकार गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। प्रहरीले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, कञ्चनपुरलाई भनेको छ।

clock बिहिबार ०३, जेठ २०८१ १३:१७

प्रतिक्रिया