कैलालीका किसान बर्खे धान खेतीको तयारीमा यस बर्ष मलको अभाब नहुने
धनगढी । सुदूरपश्चिम प्रदेशका किसानहरूलाई बर्खे धान खेती तयारीको चटारो लागेको छ । किसानहरू बर्खे धान खेतीका लागि आवश्यक रासायनिक मल, बिउ लगायत कृषि उपकरणको तयारीमा जुटेका हुन् ।
खासगरी प्रदेशकै अन्नको भण्डार मानिने कैलाली र कञ्चनपुर जिल्लाका किसानहरू बर्खे धान खेतीको तयारीमा जुटेका हुन् । किसानहरू यतिबेला धानको बेर्ना राख्ने तयारीमा लागेका छन् । कसैले बेर्ना राखिसकेका छन् । यहाँका बिउ उत्पादक तथा वितरक सहकारी तथा कृषि संस्थाले केही सातादेखि धानको बिउ बिक्री वितरण गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले कैलाली र कञ्चनपुर जिल्लाका लागि धानको नयाँ प्रजातिमा हर्दिनाथ–४, हर्दिनाथ–५, हर्दिनाथ–६, बहुगुणी–१, बहुगुणी–२, रामधान, राधा–१४, चैते–५, सुक्खा–३, सुक्खा–४, सुक्खा–५, सुक्खा–६, सावित्री, राधा–४ लाई सिफारिस गरिएको बताए ।
यद्यपि यहाँका किसानले सर्जु–५२ का साथै हाइब्रिड जातको धानको बिउसमेत प्रयोग गर्दै आएको धनगढीस्थित जीवन एग्रोभेटका सञ्चालक जीवन चौधरी बताउँछन् ।
मलको अभाव हुँदैन
यसैबिच यहाँका किसानहरू धान खेतीका लागि आवश्यक रासायनिक मलको जोहोमा समेत लागेका छन् । तर यहाँका किसानहरू धान रोप्ने बेला प्रयोग गरिने डीएपी मलको अभाव रहेको बताएका छन् ।
मल वितरण गर्दै आएको सहकारीहरूमा चाहे अनुसारको डीएपी मल अझै पुग्न नसक्दा खरिद गर्न नसकेको कैलारी– ६ का किसान आशाराम चौधरीले बताए ।
तर किसानहरूले मल अभाव झेलिरहेको बेला मलको बिक्री वितरण गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेडले मलको अभाव नहुने दाबी गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख नवलसिंह बोगटीले डीएपी मल आएजति वितरण गरिसकेको बताउँदै पुनः जेठ १२ गते आइपुग्ने जानकारी दिए । तर युरिया मल आफूहरूसँग ३ हजार मेट्रिक टन र पोटास २ सय मेट्रिक टन मौज्दात रहेको बोगटीले जनाए ।
त्यस्तै, साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड सुदूरपश्चिम प्रमुख वासुदेव उपाध्यायले आफूहरूसँग युरियाको मौज्दात रहेको बताए । जेठ दोस्रो साता डीएपी मल आएपछि यहाँको अभाव हट्ने उपाध्यायको भनाइ छ ।
यहाँ कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेडले रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् ।
यहाँका किसानले हरेक सिजनमा मलको अभाव झेल्दै आएका छन् । नेपालमा आयात हुने मललाई प्रदेश अनुसारको वितरण प्रणाली असमान हुँदा सुदूरपश्चिममा मलको अभाव हुँदै आएको बताइएको छ । जम्मा आयात हुने मलको केवल ९।७ प्रतिशतमात्रै सुदूरपश्चिममा दिँदै आएकाले बर्सेनि अभाव हुँदै आएको मल आपूर्तिकर्ताहरूको भनाइ छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढीले आर्थिक वर्ष ०८०/८१ को लागि यूरिया मल ५४ हजार २६९ मेट्रिक टन, डीएपी मल ३३ हजार १७२ मेट्रिक टन र पोटास ७ हजार ७२४ मेट्रिक टन आवश्यक रहेको बताएको छ ।
प्रतिक्रिया