प्रहरीमाथि जासुसी गर्ने धनगढीका बुद्दीराम चौधरी  पक्राउ

  आइतबार ३०, बैशाख २०८१ ०९:२४

धनगढी । कैलालीको धनगढीबाट प्रहरीमाथि जासुसी गर्ने एक जना पक्राउ परेका छन्। तस्कर समूहहरुको तर्फबाट प्रहरीमाथि निगरानी राख्ने गरेको आरोप लागेका धनगढी–७ बस्ने बुद्दीराम चौधरी पक्राउ परेका हुन्। 

चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ। शनिवार तस्करहरूका जासुस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

चौधरीले प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा निगरानी राख्ने र तस्करहरूलाई सोको जानकारी दिने गरेको खुलेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख छ। 

उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना दिने गरेको खुलेको हो।

चौधरीले सूचना दिएबाफत प्रति सूचना ५ सयका दरले रकम लिने गरेको बताइएको छ। चौधरीलाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

clock आइतबार ३०, बैशाख २०८१ ०९:२४

प्रतिक्रिया