धनगढीबाट जापान जान दुई सय युवाले भरे फाराम, २४ जना छनोट

  शनिबार २९, बैशाख २०८१ १३:४६

धनगढी । कैलालीको धनगढीबाट जापान जान दुई सय युवाले रोजगार सेवा केन्द्रमा फाराम भरेका छन्। तर चार महिनाको अवधीमा २४ जना मात्र छनोटमा परेका छन्। धनगढी उपमहानरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा धनगढी स्थायी बसोबास भएका १८ देखि ४० वर्ष उमेर समुहका व्यक्तिले जापान जान फाराम बुझाएका हुन्। उपमहानगरपालिकाले माघ १ गतेबाट जापान जान इच्छुक युवाहरूबाट फाराम लिन सुरु गरेको थियो।

न्यूनतम लागतमा कामदार तथा ट्रेनी भिसामा जापान जान चाहने युवालाई उपमहानगरपालिकाले जापान पठाउन सम्झौता गरेको छ। विदेशमा गएर त्यहाँको प्रविधी, सीप र काम गर्ने वातावरण बुझ्ने र सिक्ने तथा स्वदेश फर्केर व्यवसाय सञ्चालन गरेर रोजगारी सिर्जना गरुन् भनेर उपमहानगरपालिकाले ट्रेनी भिसामा युवाहरूलाई जापान पठाउने सम्झौता गरेको रोजगार संयोजक चन्द्र महराले बताए।

‘जापानमा ३ देखि ५ वर्ष बसेर सीप तथा प्रविधी सिकेर स्वदेश फर्कने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य राखेर जापान पठाउने कार्यक्रम लागु गरिएको हो,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका १८ देखि ४० वर्ष उमेरका, कम्तिमा कक्षा १० पास गरेर जापानी भाषाको एन ५ र एन ४ लेवल पास भएको व्यक्तिले रोजगार सेवा केन्द्रमा हरेक महिनाको १ देखि ५ गतेसम्म आफ्नो बायोडाटा पेस गर्नुपर्छ।’ 

जापान जान इच्छुक व्यक्तिले आफै रोजगार केन्द्रमा पुगेर बायोडाटा बुझाउनुपर्ने छ। रोजगार केन्द्रबाट हरेक महिना जापान कामदार पठाउन सूचिकृत भएका म्यानपावर कम्पनीलाई बायोडाटा पठाइन्छ। यस्तै जापानबाट म्यानपावर कम्पनीहरूलाई हरेक तीन महिनामा कामदारको माग आउने गर्छ। कम्तिमा एन ५ लेवल भाषा परीक्षा पास गरेका, केयर गिभर, फुड प्याकेजिङ, पार्ट एसेम्बलिङ लगायत सीप भएका कामदारको माग जापानबाट बढी हुने गरेको रोजगार संयोजक महराले बताए।

धनगढीमा माघ १ गतेबाट फाराम संकलन गर्न सुरू भएकोमा अहिलेसम्म करिव दुई सय युवाले जापान जान बायोडाटा पेस गरेका छन्। २४ जना युवा भने जापान जान छनोट भइसकेका छन्। अबको ६ महिनापछि छनोट भएका युवाका लागि रोजगारदाता कम्पनीले भिसा पठाउने छ। त्यसपछि छनोट भएका व्यक्तिले कम्तिमा ३ र बढीमा ५ वर्ष जापानमा बसेर काम गर्न पाउने छन्।

जापान जान छनोट भएका व्यक्तिले म्यानपावर कम्पनीलाई एक महिनाको तलव बराबर हुने रकम, एकतर्फी हवाई टिकट र श्रम स्वीकृति, बिमा, सामाजिक सुरक्षा कोष कल्याणकारी कोषमा लाग्ने खर्च व्यहोर्नुपर्ने छ। न्यूनतम शुल्कमा जापान गएर पुँजी तथा सीप सिकेर स्वदेश फर्केपछि युवाहरू स्वरोजगार तथा रोजगारी सिर्जना गर्न सक्ने हुने अपेक्षासहित उपमहानगरपालिकाले जापान कामदार पठाउने सम्झौता गरेको रोजगार संयोजक महराले बताए। जापानी भाषाको दक्षता, सीप तथा कम्पनीलाई आवश्यक जनशक्तिको अधारमा व्यक्तिले जापान जाने अवसर प्राप्त गर्नेछन्।

clock शनिबार २९, बैशाख २०८१ १३:४६

प्रतिक्रिया