सुधार केन्द्रमा युवक मृत्यु प्रकरणः कुटपिट गरि हत्या भएको खुलासा, १७ जनाविरुद्ध मुद्दा दर्ता

  शुक्रबार २८, बैशाख २०८१ ११:४१

धनगढी। कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानमा मृत भेटिएका २५ वर्षीय सुनिल शाहीको हत्या भएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति  शाहीको मृत्यु भएको थियो । नयाँ बाटो पुनःस्थापना केन्द्रमा मृत भेटिएका २५ वर्षीय सुनिल शाहीको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय सुखडले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको पुनःस्थापना केन्द्रमै कुटपिटपछि मृत्यु भइसकेको खुलेको हो ।

शाहीको कुटपिट गरि हत्या गरेको पाइएपछि इलाका प्रहरी कार्यालयले सञ्चालक, अध्यक्ष र पुनःस्थापना केन्द्रमा आश्रीतसहितका १७ जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेको छ ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपेन्द्रकुमार पालले मृतकका परिवारले दिएको किटानी जाहेरी दर्ता गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए । पिडीत परिवारले हत्या नै भनेका छन्, उनले भने हामीले डाक्टरको रिर्पोट पर्खिरहेका छौँ ।

उनकाअनुसार पोष्टमार्टमको अन्तीम रिर्पोट आउन बाँकी रहेकाले त्यसपछि मात्रै भन्न सकिने र अनुसन्धान भैरहेको बताए ।पुनःस्थापना केन्द्रका सञ्चालक बल खत्री,रोशन ऐर, सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

यस्तै पुनःस्थापना केन्द्रमा आश्रीत घोडाघोडी नगरपालिका–१ का विपुल सापकोटा, सुर्दशन अधिकारी, भुप्रेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नवीन रावल, नवराज चौधरी, कृष्ण तिमिल्सिना, सुमन भट्ट, घोडाघोडी–१० का आकाश अधिकारी, रोशन पनाडी, गौरीगंगा नगरपालिका–६ का दिनेश मन्नी र केन्द्रमा साथीलाई भेट्न गएका मुकेश सुनारका नाममा पनि किटानी जाहेरी दर्ता गरिएको छ ।

उनीहरू मध्ये १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि सञ्चालक रोशन ऐर भने फरार रहेको प्रहरीले जनाएको छ ।प्रारम्भीक अनुसन्धानका क्रममा शाहीले मंगलबार दिउँसो पुनःस्थापना केन्द्रबाट भाग्न खोजेका थिए ।उनी भाग्न खोज्दा नियन्त्रणमा लिएर केन्द्रमा आश्रीतहरूले पालैपालो कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार कुटपिटबाट गम्भीर घाइते भएका शाही राति रूदै सुत्ने कोठामा गएका थिए ।राति करीब २ बजेको समयमा शाहीको मृत्यु भइसकेपनि प्रहरीलाई भने ढिलो गरि खबर गरिएको थियो । त्यो बीचमा घटना लुकाउने प्रयास गरिएको थियो ।घटनाका अभियुक्तहरूले शाही भाग्न खोज्दा पालैपालो कुटपिट गरेको बताउँदै घटना लुकाउन छतबाट खसेको झुटो कुरा बोलेको बयान दिएको प्रहरीले जनाएको छ ।

clock शुक्रबार २८, बैशाख २०८१ ११:४१

प्रतिक्रिया