धनगढीमा मर्निङ वाक गर्दा तार बेरिएर ट्रक संगै लछारिएकी पन्तको मृत्यु

  मङ्गलबार २५, बैशाख २०८१ १४:३३

धनगढी । धनगढीमा मर्निङ वाक गरिरहेकी बृद्धा सडकको तार बेरिएर ट्रक संगै लछारिएकी बृद्धाको मृत्यु भएको छ । धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ५ तारानगरकी ७० बर्षिय इन्द्रा पन्तको ६८ औँ दिनमा मृत्यु भएको हो । 

गत फागुन १६ गते बिहानै मर्निङ वाक पन्तलाई धनगढीको एक्सिस बिद्याश्रमको चोकदेखी करिब बालमिकि स्कुलसम्म डेलिभरी मिनि ट्रकले लछारेर पन्तलाई घाइते बनाएको थियो । सडक क्षेत्रमा रहेका टेलिफोन र इन्टरनेटका तारमा सहित ट्रक संगै लछारिएकी उनलाई बालमिकि स्कुल नजिक स्थानियले उद्धार गरेर उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धनगढीकै मायामेट्रो अस्पतालमा उपचाररत पन्तको सोमबार मृत्यु भएको उनका भाई क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।

सडकको फुटपाथमा छरिएका टेलिफोनको तार ट्रकमा अडकिएर फुटपाथमा हिडदै गरेकि पन्तको खुट्टालाई बेरेपछि उनि ट्रक संगै लछारिन पुगेकी थिइन् । करिब ३०० देखि ५०० मिटर अगाडि लछारिएकी उनको टाउका तथा घुँडामा गम्भिर चोट लागेको थियो । टाउकोकै चोटका कारण उनि होसमा आउन सकिनन् । उनलाई बचाउने अनेकौँ प्रयास गरेपनि सफल हुन नसकेको उप्रेतीले बताए ।

आफन्तहरुले टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनिहरुको लापरबाहीका कारण घटना घटेको बताएका छन् । सम्बन्धित निकायले मर्मत सम्भार गरेको भए घटना नघट्ने आफन्तको बुझाई छ । यस्तै धनगढी उपमहानगरपालिकाले यस्ता कमी कमजोरीको पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

clock मङ्गलबार २५, बैशाख २०८१ १४:३३

प्रतिक्रिया