कैलालीमा बढ्दै आगलागी, नियन्त्रणमा चुनौती

  सोमबार १७, बैशाख २०८१ ०९:३१

धनगढी । चर्को गर्मीसँगै कैलालीका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेका छन् । केही दिनयता १६ स्थानमा आगलागी भएको प्रादेशिक विपत् कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

सो कार्यालयका अनुसार आगलागीबाट लाखौँको धनमाल क्षति भएको छ । कतिपय विद्युत् सर्ट भई र धेरै ठाउँमा मानवीय लापर्बाहीका कारण आगलागी भइरहेको केन्द्रले जनाएको छ । गहुँको नल जलाउन कोहीकसैले खेतमा लगाएको आगो अन्यत्र सल्किएर धेरै ठाउँमा आगलागी भएको छ । यही १२ गते विभिन्न स्थानमा लागेको आगोबाट ६१ लाख पाँच हजार रुपियाँ बराबरको क्षति भएको छ । 

गोदावरी नगरपालिकास्थित प्रेरणा सपिङ सेन्टरमा अचानक आगलागी हुँदा ४५ लाख रुपियाँ बराबर, मोहन्याल गाउँपालिकाको बिचगडा र गोदावरी नगरपालिका–९, सेहरीस्थित लक्ष्मी सामुदायिक वनमा आगलागी हुँदा यत्तिको क्षति भएको अनुमान गरिएको छ । 

त्यस्तै बर्दगोरिया–२ स्थित गहुँको नल जलाउनका लागि लगाइएको आगो घरगोठमा सल्केपछि पशुचौपाया जलेर मरेका छन् । लम्कीचुहा नगरपालिका–८, गप्कास्थित खेतमा लागेको आगो पनि घरगोठमा पुगेपछि पशुचौपाया जलेर मर्नुका साथै गोठ, पराल नष्ट भएको छ ।

भजनी नगरपालिका–९, मन्त्रीफाँटास्थित गहुँ काटेको खेतमा आगलागी हुँदा राष्ट्रिय मावि ढुसीको १६ बिघा जमिनमा लगाइएको लेप्टिसको रुखका साथै एउटा कच्ची घर जलेको छ । किसानको चैते धान पनि जलेर नष्ट भएको छ । 

त्यस्तै वैशाख १४ गते कैलालीको विभिन्न ठाउँमा लागेको आगोले करिब १२ लाख १५ हजार रुपियाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ । भजनी नगरपालिका–५, लालबोझीमा विद्युत् सर्ट भई एक घरमा लागेको आगोले पाँच लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । 

सुक्खा गर्मीसँगै आगलागीका घटनाका कारण ठुलो मात्रामा धनमालको क्षति भइरहेको भजनीका अविनाश एचकेले जानकारी दिए । उनले खेतमा आगलागी हुँदा चैते धानसमेत जलेर नष्ट भएको उल्लेख गरे ।  

clock सोमबार १७, बैशाख २०८१ ०९:३१

प्रतिक्रिया