बझाङको बड्डीज्यावनमा ४ महिनादेखि खानेपानी समस्या
बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ बड्डीज्यावनवासीले ४ महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् ।
‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो ।
सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा १ घण्टा पैदल हिँडेर वेउरको पानी बोकेर पिउन बाध्य भएका छन् ।
घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताए ।
बड्डीज्यावनकी स्थानीय कलसी धामीले भने, ‘५–६ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले ४ महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौं, खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’
खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताए । उनले भने, ‘स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कूलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कूल आउँदैनन् ।’
बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विक्रम संवत् २०७७ सालमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । ३ किलोवाट क्षमताको सौर्य ऊर्जाबाट १ हजार ५०० मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पुर्याइएको थियो ।
लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् ।
बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधि सम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौंबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडौंबाट प्राविधिक ल्याउन नसकिएको बताए ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया