भारत बसेर सुदूरपश्चिममा ड्रग्स सप्लाई गर्ने २ जना पलियाबाट पक्राउ

  बुधबार १२, बैशाख २०८१ १३:४५

धनगढी । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना  ‘ड्रग्सकिंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ।

मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ।

दुवैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन्। विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए।

उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजी गरेको थियो। उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभित्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए।

उनी लामो समयसम्म डडेल्धुरामा पनि बसेका थिए। डडेल्धुराकै युवतीसँग बिहे गरेका उनले जिल्ला सदरमुकाममा मोटरसाइकलको ग्यारेज खोलेर बसेका थिए। उनले त्यसकै आडमा ‘ड्रग्स’को धन्दा चलाएका थिए। विभिन्न समयमा पक्राउ समेत परेका उनी छुट्दै आएका थिए। 

उनले जिल्लाका किशोरकिशोरीलाई विभिन्न प्रकारका लागुऔषध सप्लाई गर्ने गरेका थिए । लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी हाल भारतको पलियामा डेरा गरी बस्दै आएका थिए।

clock बुधबार १२, बैशाख २०८१ १३:४५

प्रतिक्रिया