बझाङमा वडा प्रहरीका इन्चार्जले हतियार पड्काएछि निलम्बनमा, जवान घाइते

  मङ्गलबार ११, बैशाख २०८१ १५:१९

बझाङ । बझाङमा एक प्रहरीले हतियार पड्काएको खुलेको छ। सोमबार जिल्लाको चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका एक असईद्वारा हतियार पड्काइएको हो।

स्रोतका अनुसार वडाका इन्चार्ज असई मोहनसिंह रावलको हातबाट हतियार पड्किएको हो। बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको बुझिएको छ।

हतियार पड्किएको घटनापछि असई रावल निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार असई रावलको हातबाट लोडेड हतियार (बन्दुक) चल्दा एक प्रहरी जवानलाई चोट लागेको छ।

बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्दा जवान पुदल सिंह रानालाई चोट लागेको हो। उनको खुट्टामा चोट लागेको छ। उनले असई रावललाई हतियार बुझाएपछि पड्किएको थियो। अहिले उनको उपचार भैरहेको बताइएको छ।

यता, जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले भने हतियार क्लियरीफाई गर्दा मिसयुज भएर घटना घटेको बताएका छन्।

बझाङमा तत्कालीन प्रदेशसभा सदस्यको निधनपछि यहीँ बैशाख १५ गते त्यहाँ उपनिर्वाचन हुँदै छ। जसका लागि जिल्लासहित प्रदेशबाट समेत प्रहरी खटाइएको छ।

clock मङ्गलबार ११, बैशाख २०८१ १५:१९

प्रतिक्रिया