प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन

  आइतबार ०२, बैशाख २०८१ १९:५९

डोटी । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ। पारिवारिक भेटघाटका क्रममा डोटी पुगेका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो। 

लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उच्च सम्मानका साथ उनलाई आज (आइतवार) सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताए।

प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट प्रधान न्यायाधीश बन्ने पहिलो व्यक्ति हुन्। उनलाई डोटीका स्थानीय सरकार, नागरिक समाज, नागरिक सङ्घ संस्था र स्थानीयवासीद्वारा नागरिक अभिनन्दन गरिएको हो।

प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिएको हो। श्रेष्ठको पुर्खयौली घर डोटीको सिलगढी बजारमा हो। 

शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए।

clock आइतबार ०२, बैशाख २०८१ १९:५९

प्रतिक्रिया