कैलालीमा अनाथ बालबालिकाको संरक्षण अभियान सञ्चालन

  शनिबार ०१, बैशाख २०८१ १२:११

लम्की । बालगृहमा रहेका अनाथ बालबालिकाको संरक्षणको लागि कैलालीमा ‘१० रुपैयाँ मेरो योगदान अभियान’ सञ्चालन गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको मानव सेवा बालगृहमा रहेका अनाथ बालबालिकाको लत्ता कपडा, खाद्यान्न र पढाइको लागि शुक्रवारदेखि अभियान सञ्चालन गरिएको बाल गृहका अध्यक्ष विनोद थापाले बताए।

हाल मानव सेवा बालगृहमा १५ जना अभिभावक गुमाएका बेसहारा बालबालिका रहेका छन्। बालगृहप्रति स्थानीयको अपनत्वको भावनाका साथै सहयोग सङ्कलनको लागि ‘१० रुपैयाँ मेरो योगदान अभियान’ सञ्चालन गरिएको थापाले बताए। उनले भने, ‘बाल गृहमा अहिले १३ छोरा र दुई छोरी छन्। बालबालिकालाई आमाबुवा कै जसरी माया दिन गाह्रो हुँदो रहेछ।’ सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो १८ औँ जन्मदिवसको अवसर पारी थापाले २०८० असोज २ गते बाल गृह सञ्चालन गरेको बताए।

बालगृहका संस्थापक देवेन्द्र सन्यालले मानवताभन्दा ठूलो अर्को धर्म नरहेको उनले बताए। उनले भने, ‘मानताभन्दा अर्को धर्म छैन। भगवान्को स्वरूपमा हाम्रो समाजमा बालबालिकालाई लिइन्छ।’ सामाजिक कार्य गर्दा आलोचना हुने भए पनि आफूले सेवा नै धर्मको रूपमा लिने गरेको सन्यालले बताए। सहयोगी हातको सहयोगले हाल बालगृह सञ्चालन भएका छन्। अहिले बाल गृहमा आवास र लत्ता कपडाको अभाव रहेको उनले बताए।

लम्कीचुहा नगरपालिका–१ का वडा सदस्य सिद्धराज तिमिल्सेनाले मानवताको लागि बालगृहले आह्वान गरेको १० रुपैयाँ योगदान कार्यक्रममा सबै सहभागी हुन अनुरोध गरे।

लम्की जेसिजका अध्यक्ष भरतराज खनालले बालगृहमा रहेका बालबालिकालाई कक्षा १० सम्म निःशुल्क पढाउन आफूले पहल गर्ने बताए।

clock शनिबार ०१, बैशाख २०८१ १२:११

प्रतिक्रिया