पूर्णागिरि मेलाले महेन्द्रनगरमा चहलपहल

  बिहिबार २९, चैत २०८० १७:४१     रासस

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएक छ। मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन्। 

कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन्। पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो। हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ।

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो। पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ। नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ।

“अरु बेला दर्शनार्थी कमै हुन्छन्। पूर्णागिरि मेलाले यो समयमा सिद्धबाबा दर्शनका लागि धेरै मानिस पुग्ने गरेका छन्”, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका सचिव पुष्कर उप्रेतीले भने, “फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म श्रद्धालु बढी आउँछन्। त्यसपछि दर्शनार्थी घट्दै जान्छन्।” उनका अनुसार हरेक वर्ष फागु पूर्णिमादेखि पूर्णागिरि मेला लाग्ने गरेको छ। भारतको उत्तराखण्डस्थित पूर्णागिरि मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरेमात्रै मनोकामना पूरा हुने मान्यताअनुसार पूर्णागिरिको दर्शन गरेका श्रद्धालु सिद्धबाबाको दर्शन गर्न पुग्ने गरेका छन्। रासस

clock बिहिबार २९, चैत २०८० १७:४१     रासस

प्रतिक्रिया