बाजुराका महिलाको आलु खेतीमा आकर्षण बढ्दै

  मङ्गलबार २७, चैत २०८० ०८:३६

बाजुरा । पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जाल जोडिएसँगै गाउँमा उत्पादित आलुले समयमै बजार पाउन थालेपछि पछिल्लो समय यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको हो ।

अन्नबालीभन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका–४, साहुबाडाकी अमृता खातीले बताइन् । उनले भनीन्, “आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिइनँ । गाउँमै प्राविधिकहरू आएर आलु खेतीसम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि अहिले गाउँमा आलु खेती सुरु गरेकी छु ।”

अन्य बालीबाटभन्दा आलुबाट राम्रो कमाइ गर्न सकिने भएपछि अहिले यहाँका अधिकांश महिलाले पनि आलु खेती गर्न थालेको खातीले बताईन् । बाजुराको हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका क्षेत्रमा राम्रो आलु उत्पादन हुन्छ ।

बडीमालिका नगरपालिकाको रजातोली, ढम्कने, मना, कोर्द खप्तड छेडेदह गाउँपालिका–१ को काँडा र २ को जयवागेश्वरीका स्थानीयले आलु खेती गरेर नै मनग्गे कमाइ गर्दै आएका छन् ।

यहाँका किसानलाई पहिला गाउँमा उत्पादन गरेको आलुले समयमै बजार नपाउँदा सडेर जान्छ कि भन्ने चिन्ता थियो । पछिल्लो समय भने आलु खरिद गर्नका लागि व्यापारी उनीहरूको बारीमै जान थालेपछि अहिले उनीहरूको त्यो चिन्ता हटेको छ । 

यहाँका प्रत्येक गाउँबस्तीमा सडक सञ्जालको पहुँच भएसँगै आलु खरिद गर्ने व्यापारी उनीहरूको बारीमै जान सुरु गरेका हुन् । अहिले यहाँका स्थानीयले उत्पादन गरेको अर्गानिक आलु देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।

यहाँका किसानले नयाँ प्रविधिबाट उत्पादन भएको आर्गानिक आलुले बजार पनि राम्रो पाउन थालेपछि पछिल्लो समय यहाँका महिलाको आलु खेतीप्रति चासो बढेको हो । देख्दा राम्रो र खाँदा पनि स्वास्थ्यका लागि निकै फाइदा गर्ने भएकाले पछिल्लो समय बाजुराको अर्गानिक आलु देशका विभिन्न ठाउँमा माग बढ्दै गएको हो ।

अहिले यहाँका अधिकांश किसानले अन्नबालीभन्दा पनि आलु खेती बढी गर्न थालेका छन् । भने कैयौँ किसानले त धान र कोदो लगाउन छाडेर आलु खेती मात्र गरेका छन् ।

बजारको आलुभन्दा गाउँमै उत्पादन गरेको अर्गानिक आलुले स्वास्थ्यलाई फाइदा दिने भएकाले पछिल्लो समय देशका विभिन्न ठाउँमा बाजुराको आलुको माग बढ्दै गएको यहाँका स्थानीय बताउँछन् ।

सडक पहुँच भएसँगै गाउँमा उत्पादन गरेको अर्गानिक आलुले समयमै बजार पाउन थालेपछि यहाँका महिलाको आलु खेतीप्रति निकै आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका–४, साहुबाडाका कृषक कृष्ण खातीले बताए ।

उनले भने, “साहुबाडामा एउटा कृषक समूह छ । त्यो समूहले अहिले यहाँको दुई–तीन रोपनी जमिनमा नयाँ प्रविधिबाट आलु खेती सुरु गरेको छ ।” त्यसरी नयाँ प्रविधिबाट सुरु गरेको आलु राम्रो फलेकाले यहाँका महिला थप आलु खेतीप्रति उत्प्रेरित हुँदै गएको खातीले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा गत वर्ष बाजुरामा उत्पादन गरिएको सयौँ क्विन्टल अर्गानिक आलु देशका विभिन्न बजारमा बिक्री गरिएको थियो । बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा २० हजार ४७० मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गोरखापत्रबाट 

clock मङ्गलबार २७, चैत २०८० ०८:३६

प्रतिक्रिया