एसपीए कलेजले गर्‍यो टोल सरसफाइ कर्मचारी नियुक्त

  सोमबार २६, चैत २०८० २१:२६

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. २ मा अवस्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) ले टोल सरसफाइ कर्मचारी नियुक्त गरेको छ । क्याम्पसले धनगढी उप-महानगरपालिकाले थालनी गरेको "हाम्रो धनगढी, सफा धनगढी" अभियानलाई सहयोग पुगोस् भन्ने हेतुले टोल सरसफाइ कर्मचारी नियुक्त गरेको हो । 

समाजबाट लिने मात्रै होइन समाजलाई केही प्रदान गर्नुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरणका रूपमा कार्य गर्दै आएको सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) ले नगरको सरसफाइ कार्यमा शैक्षिक क्षेत्रले पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ भन्ने उदाहरण बन्दै आफ्नो वरपर पाँच सय मिटरको वातावरण स्वच्छ राख्न टोल सरसफाइ कर्मचारीका रूपमा धनगढी-३ बस्ने नेहा साउँदलाई नियुक्त गरेको छ ।

कलेजले यही चैत्र १८ गते टोल सरसफाइ कर्मचारी नियुक्त गरेको भए पनि सो बारे सोमबार एक कार्यक्रमका बिच क्याम्पस प्रमुख योगराज उपाध्यायको नेतृत्वमा गएको टोलीले धनगढी उप-महानगरपालिकाको कार्यालय र नगर प्रमुख गोपाल हमाललाई जानकारी गराएको छ ।

उक्त कार्यक्रममा बोल्दै टोल सरसफाइ कर्मचारी साउँदले कलेजले आफूलाई दिएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्ने र उपमहानगरले थालेको  ुहाम्रो धनगढी, सफा धनगढीु अभियानलाई सफल बनाउन टोल बासीहरू मा जथाभाबी फोहोर नगर्न आग्रह गर्ने, प्लास्टिक जन्य फोहोरले क्यान्सर जस्ता घातक रोग लाग्ने हुनाले यसको प्रयोग न्यून गर्ने तथा बन्द गर्नु हामी सबैको दायित्व रहने जस्ता जनचेतनामूलक जानकारीहरू प्रदान गर्ने बताउँदै जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद सहित आभार व्यक्त गरिन् ।  

सोही कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिका वडा नं. २ का अध्यक्ष धर्मराज ओझाले कलेजले पालिकाको अभियानलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै तह र तप्का बाट नगरपालिकाले थालनी गरेका उदाहरणीय अभियानहरू सफल पार्न सहयोग गर्नु पर्नेमा जोड दिए । 

यस्तै, सो अवसरमा बोल्दै धनगढी उप-महानगरपालिकाका प्रमुख गोपाल हमालले एसपीए कलेजले यो भन्दा अगाडी समाजलाई जागरूक गर्न गरेका सरसफाइ लगायतका विभिन्न कार्यहरूको प्रशंसा गर्दै एसपीए कलेजले शिक्षामा मात्रै नभई विद्यार्थिहरु लाई अङ्क प्राप्ति सँगै समाज निर्माणमा आफूहरूको भूमिका रहनुपर्छ भन्ने लगायतका उदाहरणीय कामहरू गरेकोमा धन्यवाद ज्ञापन गरे ।

‘एसपीए कलेज अग्रणी छदै थियो तर क्याम्पस प्रमुख ज्युको सहभागिताले थप उचाइ प्राप्त गरेको छ । हामीले हेरी रहेका छौँ । कलेजले हामीले अभियान थाल्नु भन्दा पहिलेबाट शिक्षा सँगै समाज निर्माणका कार्यहरू गर्नु पर्छ भन्ने लगायतका उदाहरणीय कार्यहरू गर्दै आइरहेको छ । हामीलाई एसपीएले यस्तो उदाहरणीय काम गर्छ भन्ने विश्वास थियो तर यसबाट अन्य शैक्षिक संस्थाहरूले पनि हाम्रो पनि दायित्व रहेछ भन्ने सिक्नुपर्छ, यस्ता उदाहरणीय कामहरूको थालनी गर्नुपर्दछ । विद्यार्थीहरू को अन्य शैक्षिक संस्थाहरूले पनि अङ्क मात्र नहेरी सामाजिक उत्तरदायित्व पनि बहन गर्नु पर्छ भन्ने कुरा सिकायो भने अवश्य पनि ुहाम्रो धनगढी, सफा धनगढीु हुन्छ । धनगढी आउने हरेक व्यक्तिले फर्केर जाँदा धनगढीको बारेमा सकारात्मक दृष्टिकोणहरू सिर्जना हुने कार्यहरू गर्न सबैमा आह्वान गर्दछु ।’ मेयर हमालले भने ।

धनगढीका कुनै पनि नागरिक धनगढी बाहिर जाँदा तपाईँको धनगढी सहर त सबैभन्दा अनुशासित, सफा, उज्यालो र हरियाली सहर रहेछ भनी सुन्न पाए भने उपमहानगरको अभियान सफल भएको महसुस गर्ने मेयर हमालको भनाई छ । 

उपमहानगरका प्रमुख हमालको कार्यकक्षमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्याय, कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायर, लेखा अधिकृत इन्द्रा धामी, क्रियटिभ डाइरेक्टर तार रोस्यारा, टोल सरसफाइ कर्मचारी नेहाँ साउँद, धनगढी उप-महानगरपालिका वडा नं। २ का वडा अध्यक्ष धर्मराज ओझा र मेयर गोपाल हमाल सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

clock सोमबार २६, चैत २०८० २१:२६

प्रतिक्रिया