मकैखेती गर्ने किसानलाई जानकी गाउँपालिकाले गर्‍यो कृषियन्त्र वितरण

  सोमबार २६, चैत २०८० ०९:०९     रासस

टीकापुर (कैलाली) । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।

किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा  २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर  कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए ।

“किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,” उनले भने, “सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।”

कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै  उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए ।

“समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,” उनले भने, “गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।”

clock सोमबार २६, चैत २०८० ०९:०९     रासस

प्रतिक्रिया