७ बर्षसम्म ओदाल खोलाको पुल अधुरै , सरलको ताकेतापछि स्पानको काम शुरु

  शुक्रबार २३, चैत २०८० २१:२१

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १, स्थित ओदाल खोलामा पुल निर्माणको काम साढे सात वर्षसम्म अधुरै छ । ७ बर्षसम्म खोलामा पुल अधुरै रहेपछि जनप्रतिनिधीको टाउको दुखाई बनेको छ । पुल बनाउन माग गर्दै जनताले दवाब बढाइरहँदा जनप्रतिनिधीहरु ठेकेदारलाई ताकेता गरिरहेका छन् ।

बंक–नाइल–बुडर सडकअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका १ ओदाल खोलामा पर्ने ७० मिटर लम्बाई रहेको पुल निर्माणमा चरम लापरबाही भएको छ । ७ बर्षअघी निर्माणका लागी सम्झौता भएपनि अँझै पुल अधुरै छ । पुल निर्माणका लागि २०७३ भदौमा थेगिम–गाल्वा जेभीसँग सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पानमध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ ।

पुल नहुँदा स्थानीयले बर्खायाममा खोला तर्न निकै सास्ती खेप्नुपर्छ । चुरेको फेदी भएर बग्ने यो खोला बर्खामा उर्लने भएकाले खोलापारिका बस्तीका बासिन्दालाई वारि र वारिको बस्तीका बासिन्दालाई पारि जान समस्या हुने गरेको स्थानीय बताउँछन् । खोलाको उत्तरतिर चुरे नजिक पर्ने सुन्दरीफाँटा र पहरिया गरी दुई गाउँ छन् । यी दुई बस्तीलाई खोलावारि जोड्ने अरु विकल्प छैन ।

स्थानीय इश्वर बुढाले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए । खोलापारि बोर्डिङ र वारि मावि तहसम्मको सरकारी स्कुल भएकाले दैनिक खोला तरेर विद्यालय जाने विद्यार्थीको संख्या धेरै रहेको उनले बताए । ‘बर्खामा खोलामा बाढी धेरै आउँछ, वारिपारि जान सकिँदैन,’ उनले भने, ‘उपचार नपाएर मान्छेका जीवन गइरहेको छ ।’ हरेक बर्खामा ज्यान जोखिममा पारेर आवतजावत गर्नु परिरहेको उनले बताए ।

पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पु¥याउन समस्या हुने गरेको छ । बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पु¥याउन सकिँदैन । पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ । गाउँबाट खोलापारि रहेको पहरिया गाउँको स्कुलमा अध्ययनका लागि जाने विद्यार्थीले खोला तर्न सास्ती खेप्नुपरेको स्थानिय बताउँछन् ।

स्थानीयका अनुसार गाउँमा निमावि तहसम्मको मात्र विद्यालय रहेकाले माथिल्लो तह अध्ययन गर्न विद्यार्थी पारि जाने गरेका छन् । पुल नभएकै कारण ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको छ । खोलापारि बोर्डिङ र वारि मावि तहसम्मको सरकारी स्कुल भएकाले दैनिक खोला तरेर विद्यालय जाने विद्यार्थीको संख्या धेरै रहेको छ ।

कृष्णपुर– १, पहरियाका मंगुराम भुलले पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पु¥याउन समस्या हुने गरेको बताए । ‘बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पु¥याउन सकिँदैन । हामी खोलापारि जान पाउँदैनौँ,’ उनले दुःखेसो सुनाए, ‘पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ ।

अहिले प्रदेश सांसद ओम भाट ज्युले निकै पहल गरेपछि पुलको अर्को स्पान बन्न थालेको छ आशा छ अब हामी चाँडै पुल तर्न पाउने छौँ ।’ सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरेपछि बल्ल अर्को स्पान निर्माण शुरु भएको छ ।

भाटले आफु निर्वाचित भएपछि पटक–पटक गरेको ताकेतापछि मात्रै पुलको काम अगाडी बढेको बताए । उनले पुलको काम बजेट अभावले भन्दापनि ठेकेदारको लापरवाहीले अलपत्र रहेको बताए । सडक डिभिजन कार्यालयलाई कार्वाही अगाडी बढाउन निर्देशन दिएपछि बल्ल ठेकेदारले काम थालेको बताउँदै भाटले बर्षात शुरु हुनु अघी पुल सञ्चालन गराउने तयारी रहेको दावी गरे ।

‘जनताले पुल कहिले बन्छ भनेर सोधिरहेका छन्, हामीले के जवाफ दिने,’ भाटले भने, ‘यो कम्पनीले काम नगर्ने हो भने तत्काल ठेक्का रद्द गरेर नयाँ प्रक्रियामार्फत काम गरिनुपर्छ ।’ सडक डिभिजन कार्यालयलाई पनि काम लगाउन नसक्ने हो भने कारबाहीको प्रक्रियामा जान भनेको उनले बताए ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रूपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ । सुरुको सम्झौताअनुसार एक वर्षमा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । स्थानीयले वर्षौँसम्म पुल अलपत्र पार्ने ठेकेदारलाई दिएको अन्तिम मौकामा काम नसके ठेक्का तोड्ने देखी कालोसुचीमा हाल्नतर्फ जनप्रतिनिधीनै अगाडी सर्नुपर्नेमा जोड दिएका छन् ।

clock शुक्रबार २३, चैत २०८० २१:२१

प्रतिक्रिया