सुदूरपश्चिममा खटीएका सबै घुमुवा प्रहरी हटे

  शनिबार १७, चैत २०८० ०७:२०

धनगढी । सुदूरपश्चिममा प्रदेश प्रहरी कार्यालय सहित मातहतका कार्यालयमा खटीएका सादा पोसाकका प्रहरी ‘घुमुवा’ हटाइएका छन्।

गृह मन्त्रालय एवं प्रहरी प्रधान कार्यालयको बुधबारको परिपत्रले घुमुवा प्रहरी (सादा पोसाकमा खटिएका) हटाइएका हुन्। घुमुवाबाट हटाइएपछि उनीहरूलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ भने दरबन्दी भएकै स्थानमा रमानासमेत गरिएको बताइएको छ।

प्रहरी स्रोतकाअनुसार प्रदेश प्रहरी कार्यालयसहित मातहत कार्यालय र युनिटमा सादा पोसाकमा खटाइएका घुमुवालाई हटाइएको हो।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षक (आइजीपी) को सचिवालयले बिहीबारदेखि नै सादा पोसाकका प्रहरी कर्मचारीलाई हटाउन देशैभरका प्रहरी कार्यालयमा पत्राचार गरेको थियो। सोही पत्राचारपछि सुदूरपश्चिममा पनि घुमुवा हटाइएको हो। 

सादा पोसाकका प्रहरी कर्मचारी विवादित घटनामा संलग्न हुन थालेपछि गृह मन्त्रालयले हटाउन निर्देशन दिएको बताइएको थियो। तर, सादा पोसाकका प्रहरी कर्मचारी हटाउँदा अपराध अनुसन्धान एवं ठूला अपरेसन सञ्चालन लगायतका विषयमा भने प्रहरीलाई चुनौती हुने देखिन्छ।

तथापि प्रहरी प्रधान कार्यालयले आवश्यकताका आधारम स्वच्छ छवि भएकालाई पुनः घुमुवा राख्न सकिने व्यवस्था कायमै रहेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले हालका सादा पोशाकमा कार्यरत प्रहरीलाई हटाउन परिपत्र गरिएको तर आवश्यक विषेश कामका लागि भने सादा पोशाकमा असल, इमानदार छविका प्रहरी कर्मचारीलाई खटाउने मिल्ने जानकारी दिए।

यस अगाडि प्रदेश प्रहरी कार्यालयसहित मातहतका सबै कार्यालयले घुमुवा राख्दै आएका थिए। उनीहरूले अपराध अनुसन्धान, सूचना संकलन लगायत लागुऔषध एवं चोरी तस्करी नियन्त्रणमा काम गर्दै आएका थिए।

clock शनिबार १७, चैत २०८० ०७:२०

प्रतिक्रिया