डीआइजीको पदस्थापनः सुदूरपश्चिममा डीआइजी बोहरा र कोसी प्रदेशमा बास्तोला
धनगढी । केही दिनअघि बढुवा भएका डीआइजीको पदस्थापन भएको छ। भरत बहादुर बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन भएको छ ।
नागरिकता र उमेर विवादपछि तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहिन थियो। नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।
बोहराले यस अगाडी काठमाडौं प्रहरी परिसरको कमाण्ड समेत सम्हालिसकेका छन्। बोहरा प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्।डीआईजीमा बढुवा भएपछि हाल खटाइएको कार्यालयमै पदस्थापन गर्ने गरि उनीहरुलाई काजमा खटाइएको बुझिएको छ।
यस्तै डीआइजी राजेशनाथ बास्तोला कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, डीआइजी विष्णुकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल,त्यस्तै, डीआइजी रवीन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज,चन्द्र कुबेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा पदस्थापन भएको हो।
त्यस्तै, डीआइजी जनक भट्टराई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लालमणि आचार्य काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्र प्रसाद मैनाली नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरी साइबर ब्युरो भोटाहिटी,डीआइजी यज्ञ विनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्युरो र विकास राज खनाल नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा पदस्थापन गरिएको हो।
प्रतिक्रिया