कर्णाली नदीमा बेपत्ता युवक भेटिएनन, ६ जना प्रहरीको नियन्त्रणमा

  बुधबार १४, चैत २०८० ०७:०३

धनगढी । कैलालीको कर्णाली नदीमा सोमवार बेपत्ता भएका युवा अझै फेला परेका छैनन। कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मङ्गलवार पनि खोजी गरिएको थियो। मङ्गलवार साँझसम्म शाही नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेका थिए। सोमवार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए। उनीहरू मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिएपनि शाही भने नदीमै बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो। तर, साथीहरू धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइरहेको भन्दै उक्त समूह अघि बढेको थियो। कर्णाली नदीमा हाम फालेका मध्येमा ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। उनीहरूलाई सोधपुछपछि परिवारको जिम्मा लगाइनेछ।

clock बुधबार १४, चैत २०८० ०७:०३

प्रतिक्रिया