आज तराईमा होली, हर्षोल्लासपूर्वक मनाइँदै

  सोमबार १२, चैत २०८० ०६:४६

धनगढी । रङको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । 

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ ।

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । 

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । 

होलीका अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  हिमाल र पहाडमा भने हिजै होली मनाइएको थियो ।

clock सोमबार १२, चैत २०८० ०६:४६

प्रतिक्रिया