डोटीमा ९० वर्षीया वृद्धालाई घरमै नागरिकता दिइयो

  बुधबार ०७, चैत २०८० १६:४६     रासस

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराएको छ। सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो। 

कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।

वृद्ध अवस्थामा रहेकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताए। नागरिकता पाएपछि वृद्धासँगै उनका घरपरिवारका सदस्य हर्षीत भएका छन्।

clock बुधबार ०७, चैत २०८० १६:४६     रासस

प्रतिक्रिया