होलीमा अवाञ्छित क्रियाकलाप नगर्न कैलाली  प्रशासनको आग्रह

  मङ्गलबार ०६, चैत २०८० ०८:०६

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले यस वर्ष होलीमा अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरेको छ । होलीको नाममा लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ लगाउनेलाई कानुनी कारबाही समेत गरिने जनाएको छ । 

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै होलीमा अमर्यादित कार्य गर्नेलाई कारबाही गर्ने जनाएको हो । कसैको इच्छा विपरीत रङ्ग लगाउने, बाटोमा ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट पैसा असुल्नेजस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । 

अरूलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउनेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्नेखालका कार्यहरू नगर्न र नगराउन प्रशासनले सचेत गराएको छ । 

होलीमा यस प्रकारको गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यसै गरी, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवम् मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता कार्य नगर्न प्रशासनको आग्रह छ ।  

चैत ११ गते पहाडी होली र १२ गते तराईका लागि परेको रङ्गहरुको साँस्कृतिक पर्व फागु पूर्णिमाको अवसरमा उक्त साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनु हुन सबैमा अनुरोध गरेको छ । 

clock मङ्गलबार ०६, चैत २०८० ०८:०६

प्रतिक्रिया