हरियाली अभियानमा धनगढी उपमहानगर

  आइतबार ०४, चैत २०८० ११:४३

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ । धनगढीलाई हराभरा बनाउने अभियानअन्तर्गत तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रम सुरू भएको छ । 

हरियो प्रवद्र्धन कार्यक्रमका क्रममा शुक्रबार धनगढी विमानस्थल जोड्ने सडकको दुवै किनारामा बिरुवा रोप्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रममा पाँच हजार पाँच सय बढी विभिन्न प्रजातीका बोट रोप्ने लक्ष्य लिइएको छ । धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । 

शुक्रबार धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारुले विमानस्थल सडकमा विरुवा रोपेर अभियानको सुरुवात गरिन् । उपप्रमुख रानाथारुले भनिन्– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा लगाइने छन् । 

उपमहानगरपालिका कार्यालयले तेस्रो चरणको हरियाली अभियानमा विमानस्थल सडक, चक्रपथ र हुलाकी सडकको दुवै किनारामा विभिन्न प्रजातीका विरुवा रोपिने जनाएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले भने– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानमा साढे पाँच हजार बढी विरुवा रोपिने छन् । 

उपमहानगरपालिकाले वृहत वृक्षारोपण अभियान सुरु गरेदेखि नै आम नगरबासीलाई समेत अभियानमा सहभागी बनाउँदै आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– “वृक्षारोपणका लागि व्यक्तिले समेत उपमहानगरपालिकालाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । हामीले एउटा विरुवा रोप्नका लागि व्यक्तिबाट पाँच हजार रुपैयाँ सहयोगको कार्यक्रम बनाएका छौं । नागरिकबाट निकै उत्साहका साथ यो कार्यक्रमलाई समर्थन मिलेको छ । 

वृक्षारोपण अभियानका क्रममा उपमहानगरपालिकाले आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– नागरिकबाट प्राप्त भएको रकमबाट हामीले विरुवा र घेरबार किनेर वृक्षारोपण कार्य अघि बढाएका छौ । उनले नगर प्रमुख .गोपाल हमाल) पहलमा धनगढीबासी तथा नेपालको विभिन्न ठाउँ तथा विदेशमा बस्ने नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको बताए । 

उपमहानगरपालिकाले हरियालीयुक्त धनगढी सहर नारासहित चालू आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको छ । अहिलेसम्म उपमहानगरपालिकाभित्रको ६ लेन सडकको बीच (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । बजार क्षेत्रका निर्माण भइसकेका सडकहरूमा समेत बृक्षारोपण भएको छ । 

नगर प्रमुख हमालले हरियाली धनगढी शहरको नारा साकार पार्न वृहत रुपमा वृक्षारोपण अभियान अघि बढाइएको बताए । उनले भने– हामी आम नगरबासीको साथ र समर्थनबाट यो अभियान अघि बढाइरहेका छौ । नागरिकको स्वामित्व भएकोले यो अभियान सफल हुने विश्वास छ ।

उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री–गार्ड) राख्नुका साथै मल हाल्ने, सिँचाईं गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने जनाइएको छ ।

clock आइतबार ०४, चैत २०८० ११:४३

प्रतिक्रिया