टीकापुरमा एकै वडालाई चार भागमा फुटाउने निर्णय

  शनिबार ०३, चैत २०८० २१:४९

धनगढी । टीकापुर नगरपालिकाको १४औँ नगर सभामा एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं। १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए ।

सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको उनले जानकारी दिए । ४६ हजार ६९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको बिकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसंखया रहेको छ ।

सभाले वडा नं। १ को जमरा पुल पारी क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । जसको क्षेत्रफल ७।२५ वर्ग किलोमिटर रहेको छ । त्यस्तै, ब्लक नं। ९, १०, ११, १२, १३, १५, १६, २२, २३ र व्यवसाय क्षेत्र अर्को वडा हुनेछ यसको क्षेत्रफल २।५३ वर्ग किलोमिटर क्षेत्र समेटेर अर्को वडा बनाउने निर्णय गरेको हो ।

ब्लक नं ४, ५, ६, ७, ८ ,२४, २५ वनगाउँ र छेगरखैला अर्को वडा हुनेछ । यसको क्षेत्रफल ५।५३ किलोमिटर हुनेछ । यसैगरी ब्लक नं ए, बी, सी, १४, १७, १८, १९, २०, २१ जमरावारी शक्ति नगर र शिव नगरसम्मका शिविर क्षेत्र अर्को वडा बनाइनेछ ।

यसको क्षेत्रफल ४.७१ किलोमिटर रहेको छ । लामो समयदेखि वडा विभाजन हुनुपर्ने स्थानीयबासीले माग गर्दै आए पनि हुन सकेको थिएन ।

नगरप्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको आधा जनसङ्ख्या रहेको १ नं वडाका नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्नका लागि वडा विभाजनको निर्णय गरिएको बताए ।

‘हामीले यहाँका राजनीतिक दलसँग पनि परामर्श गरेर भूगोल र क्षेत्रलाई मिलाएर चार वडामा विभाजन गर्न नगर सभा बाट निर्णय गरेका छौँ’, नगर प्रमुख थारुले भने ।

clock शनिबार ०३, चैत २०८० २१:४९

प्रतिक्रिया