गौरीगंगा गोल्डकपः स्टार सिटी ब्वाईज युनियन फाईनलमा

  सोमबार २८, फागुन २०८० २०:२७

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा स्टार सिटी ब्वाईज युनियन क्लब फाईनलमा पुगेको छ। गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको पहिलो सेमिफाईनल खेलमा जित हात पार्दै स्टार सिटी ब्वाईज युनियन उपाधि नजिक पुगेको हो। 

लिक्मा खेल मैदानमा भएको खेलमा स्टार सिटी ब्वाईज युनियनले कञ्चनपुरको फारवेष्ट स्पोर्टस क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो। स्टार सिटी ब्वाईज युनियनलाई फाईनल पुराउन नरेन्द्र चौधरी, कुवेर सिंह र हिक्मत खत्रीले एक एक गोल गरे। फारवेष्टका लागि धिरेन्द्र शाह र सुदीप खत्रीले गोल गरे पनि टीमलाई जिताउन सकेनन्।

 पहिलो हाफको ३५ औं मिनेटमा स्टार सिटीका लागि पहिलो गोल गरे। पहिलो हाफकै ईन्जुरी समयमा कुवेर सिंहले अर्को गोल गर्दै टीमलाई दोब्बरको अग्रता दिलाए। दोस्रो हाफमा दुई गोल फर्काउदै फारवेष्ट स्पोर्टसले खेल बराबरी गर्‍यो।

दोस्रो हाफको १६ औं मिनेटमा धिरेन्द्र शाहले पहिलो र २२ औं मिनेटमा सुदीप घर्तीले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुराए। दोस्रो हाफको ३४ औं मिनेटमा फल भएपछि स्टार सिटी ब्वाईन युनियनले पेनाल्टी पायो। त्यसलाई हिक्मत खत्रीले गोलमा परिणत गर्दै आफ्नो टीमलाई फाईनल पुराए। स्टार सिटी ब्वाईज युनियनका लागि धिरेन्द्र शाही म्याच अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाए। 

प्रतियोगिता अन्तर्गत भोली दोस्रो सेमिफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको सामना गर्नेछ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्। 

clock सोमबार २८, फागुन २०८० २०:२७

प्रतिक्रिया