उच्च अदालत दिपायलका रजिस्ट्रार कटवाल भ्रष्टाचारी ठहर

  सोमबार २८, फागुन २०८० ११:३१

धनगढी । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र चार लाख ९८ हजार जरिवानाको फैसला गरेको छ । अदालतमा कार्यरत सहसचिवस्तरका कर्मचारी नै यसरी पहिलोपटक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतले उनलाई नौ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम बिगो निर्धारण गर्दै सोहीबराबर जरिवाना तथा बिगो असुलउपर हुने फैसला गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजालसले आइतबार यस्तो फैसला गरेको हो । 

कटवालविरुद्ध रकम हिनामिना गरेको भन्दै गत वर्ष भदौमा मुद्दा दायर भएको थियो । उनले दिपायलमा हुँदा विभिन्न शीर्षकमा गैरकानुनी रूपमा करिब पाँच लाख हिनामिना गरेको फेला परेपछि दायर मुद्दामा एक वर्षपछि फैसला आएको हो ।

आव ०७८/७९ मा अदालतका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरेको थियो । सोहीअनुसार १६ माघ ०७९ मा मुद्दा चलाएको थियो ।

रजिस्ट्रार कटवालले विभिन्न शीर्षकमा विनियोजित रकम खर्च गर्न नक्कली बिल भर्पाई खडा गरेको, नक्कली सम्झौतासमेत बनाई आफैँले स्वीकृत गरेका थिए । उनले यस्ता कागजात बनाई प्रायः आफैँले शोधभर्ना लिने गरेको अनुसन्धानमा देखिएको उल्लेख छ ।

रजिस्ट्रार कटवालले सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा त्यसको समेत होटेल बिल पेस गरेका थिए । सर्वोच्चबाट दिपायल निरीक्षण आउँदा खर्च भएको भन्दै बिल भर्पाई बनाई भुक्तानी लिएका थिए ।

स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिएको, हुँदै नभएको हिसाबकिताब मिलाउन भनी व्यवसायीहरूबाट खर्चको नक्कली बिल बनाउनेजस्ता कार्यमा उनको संलग्नता पुष्टि भएको थियो । 

clock सोमबार २८, फागुन २०८० ११:३१

प्रतिक्रिया