सिँचाइको माग गर्दै कैलारीका किसान आन्दोलित

  सोमबार २८, फागुन २०८० ११:२७

धनगढी । कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् । 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ ।  

सो कार्यालयले हजारौँ किसानसँग सम्बन्धित योजना तुहाउन खोजेकाले सङ्घर्षका कार्यक्रम तय गरेको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताए । 

गुर्गी सिँचाइ आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा १२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ तर आर्थिक वर्षको चार महिना मात्रै बाँकी रहँदासम्म टेन्डर नगरी बजेट फ्रिज गर्ने प्रपञ्च भइरहेको किसानको आरोप छ । गुर्गी सिँचाइ आयोजनालाई अगाडि बढाउनका लागि कार्यालयले आनाकानी गरिरहेको संयोजक चौधरीले बताए । 

जिल्लाको पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध धेरै वर्षपहिले तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ । 

त्यसताका माटो र झारपातले मात्रै बाँध बनाएर नदीको पानी किसानको खेतसम्म पु¥याउने कोसिस भएको थियो । २०२६ सालमा ढुङ्गाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो । 

आव २०६२र६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको छ । 

आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारी गाउँपालिका–१, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएका छन् । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ । गोरखापत्रबाट

clock सोमबार २८, फागुन २०८० ११:२७

प्रतिक्रिया