क्याप्टेन बेद उप्रेतीको सुदूरपश्चिम चिनाउने पुस्तक बजारमा

  आइतबार २७, फागुन २०८० ११:२९

धनगढी । क्याप्टेन बेद उप्रेतीले सुदूरपश्चिम चिनाउने पुस्तक बजारमा आएको छ । सुदूरपश्चिमको भू स्वर्गको परिकल्पना गरिएको पुस्तक बजारमा आएको हो । उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोकरभूस्वर्गको परिकल्पना ‘सुदूपश्चिम नेपाल’को लोकापर्ण गरिएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गर्दै धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताए ।

उनले उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने बताए । कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताए ।

लेखकले भने, "सुदूरपश्चिममा कहाँ कहाँ अनुपम सम्पदा छन् र तिनको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ। जुन कुराले विकासका लागि मार्गनिर्देश गर्ने विश्वास गरिएको छ।" पूर्व परराष्ट्रमन्त्री एनपी साउदले धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र इतिहासलाई लेखकले समेट्नुभएको बताए ।


पुस्तकमा सुदूरपश्चिमका सम्भावित क्षेत्रका तस्बिर र व्याख्या समेटिएको छ। कार्यक्रममा पत्रकार कुन्द दीक्षितले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखे । पुस्तकले सुन्दर सूदुरपश्चिमको सुन्दर परिकल्पना गरेको उहाँले बताए ।

सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोकरभूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्। 

पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा वर्णन गरिएको छ। पुस्तक बिक्रीबाट प्राप्त रकम बेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी गराए ।

clock आइतबार २७, फागुन २०८० ११:२९

प्रतिक्रिया